रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमाका प्रमुख मात्रै आयोगको जरिवानाबाट जोगिए ५ हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै बुझाए चुनावी खर्च

रुपन्देहीका १६ स्थानीय तहमा उम्मेदवारी दिएका पाँच हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन्।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचित प्रतिनिधि तथा निर्वाचनमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ। तर जिल्लाका १६ वटा स्थानीय तहममा निर्वाचित मध्ये तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मात्र विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन प्रचार-प्रसारमा चार लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण उनले पेश गरेका हुन्। नगरपालिका प्रमुखलाई आयोगले चार लाख ५० हजार रुपैयाँ खर्चको सीमा तोकेको थियो। निर्वाचन परिणाम घोषणा भएको चार महिनासम्म पनि खर्च विवरण नदिएपछि बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसँगै देवदह, सैनामैना, सिद्धार्थनगर र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख उपप्रमुख र तिलोत्तमा नगरपालिकाका उपप्रमुखले पनि खर्च विवरण नबुझाएपछि जरिवाना तिर्नुपर्ने भएको छ। रुपन्देहीका अन्य १० वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका पदाधिकारी समेत कसैले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation