राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको विज्ञप्ति जारी हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको रातोपाटीलाई बताए । ‘राष्ट्रपतिको कदमका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत धारणा स्पष्ट पार्दैछ । राष्ट्रपतिको कदमको संवैधानिक र कानुनी पाटाका विषयमा गठबन्धनले विज्ञप्तिमार्फत स्पष्ट पार्छ,’ उनले भने ।
गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि नगरेर संविधानको उलंघन गरेकी हुन् । राष्ट्रपतिको कदमपछि राजनीतिक माहोल तातेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation