कृषिलाई मुख्य मुद्दा बनाएर चितवन–२ बाट पौडेलले उम्मेदवारी दिने

खानाका लागि खेतिपाती’ अभियानका अभियन्ता डा।कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट उम्मेदवार दिने भएका छन् ।
कृषि विज्ञको रुपमा परिचित पौडेलले कृषिलाई नै मुख्य मुद्दा बनाएर प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्न लागेका हुन् । कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दा बढी संकटमा परेको बताउँदै उनले यो प्रवृत्तिलाई नफेरेसम्म प्रकृति थप विनाश हुने भएकाले त्यसलाई नीतिगत सुधारका लागि आफूले उम्मेदवारी दिन लागेको बताए ।
उनको नाम एमालेबाट सिफारिस भएर केन्द्रमा गएको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषिलाई राजनीतिक दलहरुले संसदमा प्राथमिकताका साथ नउठाएको कारण आफूले सो कृषि विकासका लागि संसदमा जान चाहेको उनले बताए । खाना र खेतीपातीको सवाल सम्बोधन नगरी समाजवादको परिकल्पना गर्न नसकिने बताउँदै उनले वर्तमान अवस्थालाई फेर्न राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थानको आवश्यकता रहेको बताए ।
अभियन्ता पौडेलले आफ्ना मुख्य नीतिगत लगावका रुपमा माटो विष मुक्त राख्ने तथा मानव स्वास्थ्य जोगाउने, खाना र खेतीपाती सपार्ने, स्थानीयतामा आधारित प्रकृति सम्मत विकासमा जोड दिने रहेको बताए ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दावी गरेका भरतपुरका स्थानीय वासिन्दा पौडेल पेसाले कृषि विज्ञ हुन् । पौडेलको विज्ञता कृषि, पर्यावरण र खानपिनसँग सम्बन्धितमा रहेको छ ।
उनले रामपुरबाट कृषिमा बीएससी एजी गरेका छन् भने बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर गरेका छन् । उनले प्राकृतिक श्रोत र मानिसको सम्बन्ध अध्ययन गरेर विद्यावारिधि हासिल गरेका छन् । पौडेलले नेपाल सरकारले गठन गर्ने विभिन्न विज्ञ समुहमा रहेर समेत आफ्नो विषय विज्ञता प्रस्तुत गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation