७ असोज, काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ ।
यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो
आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ ।
‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगले पत्रमा भनेको छ ।
साथै के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ