निर्वाचन मत सर्वेक्षण गर्न प्रतिवन्ध, कसैले गरे आयोगले कारवाही गर्ने

निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनबारे आचारसंहिता विपरित कुनैपनि राजनीतिक दल र उम्मेदवारबारे मत सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेको पाइएको भन्दै त्यसरी सर्वेक्षण गर्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको जनाएको छ ।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ ९त० मा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ’ आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै आचारसंहिताको दफा ४ को ९थ० मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।’
आयोगले उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation