
रुपन्देही, क्षेत्र नं. ५ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलवीचको चरम अन्तरविरोधको मारमा एमालेभित्र राजनैतिक उचाई खोज्दै गरेका खिमलाल भट्टराई र बासुदेव घिमिरे परेका छन ।
विष्णु पौडेलको निकट रहेका घिमिरे र शंकर पोखरेलको लाईनबाट टिकट पाएका खिमलाल भट्टराई उम्मेदवारी मनोनयनमा आमनेसामने हुँदा घिमिरे चुनाव हार्ने अवस्थामा पुगेका छन भने भट्टराई आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने रणनीतिमा लागेका छन ।
घिमिरेले चुनाव जित्दै गर्दा भट्टराईलाई आफ्नो क्षेत्र सधैका लागि गुमाउनु पर्ने चिन्ताले रुपन्देही ५ मा एमालेभित्रै घात अन्तरघात हुने निश्चित छ ।
त्यसो त तिलोत्तमा नगरपालिकाको प्रमुख हुँदैगर्दा बासुदेव घिमिरेलाई पाँच बर्षपछिको संघीय सांसदको हैसियतमा हेरिएको थियो । नभन्दै नगर प्रमुखबाट विदाई भएपछि घिमिरे हार्ने निश्चित भएपनि अहिले संघीय सांसदको दौडमा हुनुहुन्छ । रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा विजयी हुने महत्वाकांक्षाका साथ घिमिरे अहिले दिनरात नभनी चुनावी अभियानमा जुटिरहनु भएको छ । अन्यथा नभएको भए घिमिरे र नेपाली कांग्रेसका भरतकुमार शाहबीच कडा टक्कर हुनेथियो । तर परिस्थितिले अर्कैतिर कोल्टेफे¥यो । खिमलाल भट्टराईका लागि घिमिरेले निर्वाचन हार्नैपर्ने अवस्था देखियो । अहिले खिमलाल भट्टराई नजिकका नेता तथा कार्यकर्ताहरु अर्को पाँच बर्षपछि खिमलाललाई यो क्षेत्र सुनिश्चित गराउन घिमिरे हराउ अभियानमा लागेका छन । त्यसक्रममा भट्टराईको समूहले अप्रत्यक्षरुपमा घिमिरेको साथ छोड्दै निर्वाचनमा असहयोगको रणनीति लिएको छ । भट्टराई आफैपनि चुनावी प्रचार अभियानमा निष्कृय देखिँदा घिमिरेमाथि अन्तरघातको भय बढेको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेको संगठन बनाउनमा खिमलाल भट्टराईको धेरै मेहनत परेको छ । भट्टराईको राजनैतिक भविष्य यही निर्वाचन क्षेत्रसंग जोडिएको पनि छ । भट्टराईले यही निर्वाचन क्षेत्रबाट चुनाव लड्न आफ्नो विगत पाँच बर्षको मेहनत खर्चिनु भएको छ । तर, पछिल्लोपटक घिमिरे तगारो बन्दा भट्टराईको राजनैतिक भविष्य नै समाप्त हुने अवस्था देखिएपछि भट्टराई समूह घिमिरे हराउ अभियानमा लागेको एमाले बृत्तमै चर्चा छ । त्यसैकारण पनि भट्टराईको राजनैतिक भविष्यका लागि घिमिरेले यो क्षेत्रबाट चुनाव हार्ने स्थिति बनेको छ ।
भट्टराई समर्थित नजिकका नेकपा एमालेका संगठित सदस्यहरु घिमिरेलाई हराउनु पर्ने बाध्यतामा पुगेका छन । चुनाव प्रचार प्रसारका क्रममा पनि नेकपा एमालेका क्षेत्र नं. ५ का सक्रिय नेता कार्यकर्ताहरु घिमिरेको पक्षमा खुलेर लाग्न नसक्नुको कारण पनि यही हो । उक्त क्षेत्रका एक एमाले नेताका अनुसार घिमिरेले निर्वाचन जित्ने वित्तिकै खिमलाल भट्टराईको क्षेत्र खोसिन्छ । उहाँले यो क्षेत्रमा गरेको मेहनत खेर जान्छ । त्योमात्रै होइन घिमिरे निर्वाचन जित्दै गर्दा अर्कोपटकका लागि पनि घिमिरेका लागि यो क्षेत्र आफ्नै क्षेत्र बन्नेछ र भट्टराई सधैंका लागि बाहिरिनुपर्ने बाध्यता हुनेछ ।
अहिले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको पक्षमा जनलहर सिर्जना हुन नसक्नुका पछि पनि यही कारण मानिन्छ । खिमलाल प्रचार प्रसारमा सहभागी भएपनि भट्टराईको भित्री भावना र अभियानपनि घिमिरेलाई चुनाव हराएर भरतकुमार शाहलाई जिताएमा भोलीका दिनमा आफूलाई राजनीति गर्ने स्थायी थलो बन्ने भएकोले भट्टराई आन्तरिकरुपमै घिमिरेलाई हराउने खेलमा केन्द्रित रहेको एमालेकै अगुवा कार्यकर्ता ठोकुवा गर्छन ।
अर्कोतर्फ नेकपा एमालेका सैनामैना नगर कमिटी सदस्य रामप्रसाद घिमिरेले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन । घिमिरे खिमलाल भट्टराई निकट मानिन्छन । भट्टराईले नै घिमिरेलाई उठाएर बासुदेव घिमिरेको मत काटन सकिने योजनामा उनलाई उम्मेदवारी दिन लगाएको एमालेभित्रै चर्चा छ । उनको चुनाब चिन्ह पानीको फिल्टर रहेको छ । रामप्रसाद घिमिरे सैनामैनाको वडा नं. ६ का संगठित सदस्य समेत हुन । उनको उम्मेदवारीले बासुदेव घिमिरेलाई जाने एमालेको मत काटिने आँकलन गरिएको छ । यसबाट पनि यो क्षेत्रबाट बासुदेव घिमिरेलाई पराजित बनाउने अभियानमा पार्टीभित्रकै भट्टराई समूहले चलखेल गरिरहेको श्रोत बताउँछ ।
नेकपा एमालेकै नेता कार्यकर्ताले उक्त क्षेत्रमा भरतकुमार शाहलाई कसैलेपनि हराउन नसक्ने दावी गर्छन । शाहको बिजयमा कसैले पनि प्रश्न गरेको छैन । रह्यो खिमलाल भट्टराईले आफ्नो निर्वाचन क्षेत्र जोगाउन बासुदेव घिमिरेलाई हराउनु पर्ने परिस्थिति निर्माण भएपछि बासुदेव घिमिरे अन्तरघातको शिकार हुने भएका छन । चुनावी प्रचार प्रसारका क्रममा भट्टराईको मनोबल गिरेको देखिनुले पनि त्यो पुष्टी गर्दछ । नेकपा एमालेले भट्टराईलाई नै चुनावी अभियानको संयोजक बनाएको छ तर बाहिर देखाउनकै लागि चुनावी कमाण्डर बनाएको अहिले प्रमाणित हुँदै गएको छ । त्यसो त भट्टराईले विरामी भएको भन्दै केही दिन घरमै बसेर प्रचार प्रसारमा नगएको श्रोत बताउँछ । भट्टराईको हुँदाखाँदाको राष्ट्रिय सभाको प्रमुख सचेतक पद गुम्दै र संघीय संसदको उम्मेदवारबाट पनि बञ्चित हुँदै गर्दा उहाँमा बिचलन आउनसक्ने संभावनाका बीच हतारमा चुनावी कमाण्डर बनाइएको र पद गुमाउनुको पीडा भुलाउन चुनावी कमाण्डर बनाइएको चर्चा छ । जसले जे भनेपनि भट्टराईले रुपन्देही क्षेत्र नं. ५ गुमाउँदै गर्दा बासदेव घिमिरेले चुनाव हार्ने निश्चित भएको छ । अर्थात एमालेभित्रैबाट घिमिरेमाथि अन्तरघात हुने निश्चित छ । त्यसैपनि अर्को निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधि सभाको बलियो दाबेदारका रुपमा भूमिश्वर ढकाल उदाउने निश्चित छ । शंकर पोखरेललाई प्रदेश राजधानी दाङ सार्न ठूलो सहयोग गरेका ढकालले अहिले नै क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको टिकट पाउने संभावना थियो तर ढकालले एक पटकका लागि खिमलाल भट्टराईलाई यो क्षेत्र छोडेको भनिन्छ । ढकाल पछिल्लोसमय पोखरेल समूहमा खुलेर लागेका छन । त्यही भएर स्थानीय चुनावमा विष्णु पौडेल समूहका सैनामैनाका मेयरका उम्मेदवार चित्रवहादुर कार्कीलाई हराउन पोखरेल समूहका भूमिश्वर ढकालको सकृयता बढी नै थियो । अर्को ५ बर्षपछिको संघीय निर्वाचनमा यही क्षेत्रबाट भूमिश्वर ढकाल र खिमलाल भट्टराईबीच टिकटका लागि हानथाप हुने एमालेकै नेताहरु बताउँछन । त्यो बेला पनि ती दुई नेतावीचको टिकटको टक्करले कांग्रेसकै उम्मेदवारका लागि यो क्षेत्र सुरक्षित हुने आँकलन गरिएको छ ।्