
रुपन्देहीको सैनामैना नगरपालिकामा रात्रीकालिन मेला ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १२ औं संस्करणको रुपमा हुने भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना ८ ले माघेऔंसीको अवसर पारेर महोत्सव तथा माघेऔंसी मेला २०७९ आयोजना गर्ने भएको हो । रुपन्देहीको पुरानो मानिएको भड्छा मेला पश्चिम सैनामैना नगरको भड्छा गाउँमा संचालन हुदै आइरहेको छ ।
मेला संचालनको लागि बसेको समाजको बृहत भेला तथा छलफलबाट यही माघ ६, ७ र ८ गते सैनामैना ८ भड्छामा मेला संचालन गर्ने निर्णय भएको हो । ‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्षमा जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्य भडछा मेला हुन लागेको हो ।
मेलाका लागि सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा मुल समिति गठन गरिएको छ ।
वडा अध्यक्ष चौधरीले भडछा मेला यस क्षेत्रकै ऐतिहासिक मेला भएको बताउँदै थारु जातिको संस्कृति बचाउने र मेलाको ऐतिहासिक महत्व अझै प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनु भयो ।
तीन दिने मेलालाई व्यबस्थित रुपले सम्पन्न गर्नको लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । रातीमा सुरु हुने र रातीमा सम्पन्न हुने भएकोले यो मेलाको महत्व बढी रहेकोछ ।