
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान बिहान ८ बजेदेखि शुरु भएको छ ।
६२ वटा आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये ४८ वटा आंगिक र एक तिहाइभन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसमा चुनाव चलेको हो । मतदान दिउँसो ४ बजेसम्म हुने छ ।
रुपन्देहिका बुटवल बहुमुखि क्याम्पस, सहिद नारायण पोख्रेल रामापुर क्याम्पस, आदर्श बहुमुखि क्याम्पस, हरैया बहुमुखि क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखि क्याम्पस, लिलाधर घिमिरे छपिया जनता कलेज लगायत क्याम्पसमा निर्वाध चुनाव भैरहेको छ भने आधा दर्जन क्याम्पसमा निर्वाचन रोकिएको छ ।
यस पटकको निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट छानिने व्यवस्था छ ।
निर्वाचनमा काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एमालेको अनेरास्ववियु बिच धेरै ठाउँमा कडा प्रतिस्पर्धा छ ।