रुपन्देहीमा विद्यालयको रकम हिनामिना गर्ने प्रअ र शिक्षकलाई सजाय

रुपन्देहीको श्री हाजी ऐनायतुल्लाह सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान सामग्री खरिदमा अनियमितता भएको छ।

अनियमिततामा संलग्न दुईजनालाई विशेष अदालतले मंगलबार सजाय सुनाएको छ। विशेषले विद्यालयका तत्कालीन विज्ञान विषयका शिक्षक महमुद आलम खाँलाई भने सफाइ दिएको छ।

विशेषका उपरजिस्ट्रार नारद भट्टराईका अनुसार यस मुद्दामा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ र पूर्वप्रधानाध्यापक तथा अंग्रेजी विषयका शिक्षक श्रीकान्त दुवेसमेतलाई सजाय सुनाइएको छ। दुवैजनालाई जनही ६-६ महिना कैद तथा एक लाख ४१ हजार रुपैयाँभन्दा बढी जरिवाना सुनाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ पुस ०७६ मा मुद्दा दायर गरेको थियो। त्यसमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासले मुद्दा दायर भएको साढे तीन वर्षपछि फैसला गर्दै दुईजना माथि कसुर ठहर र एकजनालाई सफाइ दिएको हो।

उक्त विद्यालयका लागि विज्ञान सामग्री खरिद शीर्षकमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आर्थिक वर्ष ०७२-७३ मा ६ लाख ५० हजार रुपैयाँ पठाएको थियो। तर, त्यसमध्ये चार लाख १० हजार रुपैयाँबराबरको मात्र सामग्री खरिद भएको भेटिएको थियो। बाँकी रहेको एक लाख ४० हजार रुपैयाँको हिसाब नभेटिएपछि मुद्दा दायर भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation