
कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे । अभियानअन्तर्गत माओवादी नेता कार्यकर्ता पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्यका साथ गाउँगाउँ खटिएका छन् ।
विषेश रुपान्तरण अभियान सैनामैनामा विषेश रुपमा संचालन भैरहेको अहिले पार्टीले चलाएको अभियानले जनता, नेता, कार्यकर्तामा उत्साह पैदा भएको केन्दीय सदस्य तथा सैनामैना र कञ्चन इन्चार्ज ठाकुर विक किशोर बताउँछन् । उनले भने, ‘हामीले चलाइरहेको अहिलेको अभियानले जनतामा नयाँ उत्साह छाएको छ । पार्टी पहिलेकै अवस्थामा हामीले फर्काउन सक्छौं । त्यहीअनुसार हामी अभियानका खटिएका छौं ।’
उनले जनतामा अझैपनि माओवादीप्रति आशा नहटेको दाबी गरे । अभियानको क्रममा सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारलगायतमा घरघरमा पुगेर कुरा सुनिरहेको बताए । माओवादी केही बिग्रिन थालेपनि गाउँ फर्किएपछि अब जनताको पार्टी बन्ने उनको विश्वास छ ।
अभियानको सुरूआतसँगै जनतामा पार्टीप्रति सकारात्मक सन्देश आउन थालिसकेको माओवादी केन्द्रका सैनामैना इन्चार्ज सुजित बिक दाबी गर्छन् ।
सैनामैना नगरपालिकाको जिम्मेवारी सम्हालेको अध्यक्ष नारायण महत्तले भने, ‘हामी जनताको घरघरमा जान थालेपछि केही न केही सुधारको संकेत हामीले पाउन थालिसकेका छौं । यहाँ हामीले सबै वडाको बैठक राखेर अहिले अभियान लिएर अघि बढिसकेका छौं ।’
सरकारले गरेको राम्रा कामले पार्टीमा उत्साह बढेको जिकिर गर्दै पार्टी आन्तरिक सुधारको सुरूआत भइसकेको सुनाए । पालिकामा केन्द्रित भएर संगठन विस्तार गर्ने सदस्यता नवीकरण गर्ने, जनताका घरघरमा जाने र पार्टीलाई पुनर्गठन गर्ने अभियानमा आफूहरू कन्द्रित रहेको उनको भनाइ छ ।
अभियानलाई परीक्षाको रूपमा आफूहरूले लिइएको नगर सचिव दिपक भण्डारी बताउँछन् । उनले भने, ‘यो अभियानलाई हामी सबैका लागि परीक्षा हो । यो सफल बनाउने अभियानमा लागिरहेका छौं । अन्तिम परीक्षाको रूपमा लिएर जनताको घरघरमा खटिएका छौं ।’
उनले अभियानको क्रममा जनताको गुनासो सुन्नेदेखि पार्टीलाई जनता र उत्पादनसँग जोड्ने विषयमा केन्द्रित भइरहेको सुनाए ।