सांसद यादवले दिए मानव अधिकार आयोगमा अपहरणको उजुरी

१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।

अपहरण भएको भए मानव अधिकारको उल्लङ्घन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ’ उनले भने । महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

त्यसपछि साँझ मेरियट होटलमा बास  बसेका डा‍. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला  सरकारी वकिल कार्यालय  काठमाडौंमा पुगे । तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation