तेस्रो अध्यक्ष बन्दिनँ

काठमाडौं : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने बताएका छन् । नेपालले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेरै आफू तेस्रो अध्यक्ष नबन्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार पार्टी सचिवालय बैठकमा नेता नेपाललाई विधान संशोधन गरेर तेस्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई संसद्मा ल्याएर कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

‘म तपार्इंले प्रस्ताव गरेको तेस्रो अध्यक्ष हुन्नँ । त्यसमा मेरो सहमति हुँदैन । मेरो कुरा त तपाईं पार्टी र सरकार सञ्चालनमा असफल हुनुभयो, राम्रोसँग चलाउन सक्नुभएन, तपाईंले पार्टी र सरकार दुवै मोर्चाको नेतृत्व छाड्नुपर्छ भन्ने हो’, नेता नेपालले प्रधानमन्त्रीलाई भनेको उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने ।

दाहालसँग टेलिफोनमा कुराकानी गरेर नेपाल बालुवाटार गएका थिए । प्रधानमन्त्री निवासबाट बोलावट भएपछि उनले दाहाललाई त्यसबारे जानकारी गराएका हुन् । ओलीले नेपाललाई संवैधानिक निकायहरूमा नियुक्तिका लागि छलफल गर्न भन्दै बोलाएका थिए ।

पार्टीभित्र सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिसम्ममा आफू अल्पमतमा परेपछि ओलीले नेपाललाई फकाउन प्रयास गर्दै आएका थिए । उनले महाधिवेशन छिटो गरेर पार्टी अध्यक्षमा नेपाललाई सघाउने, संघीय सरकारका मन्त्रीहरूदेखि आफ्नो निजी सचिवालय हेरफेर गर्ने, संवैधानिक निकायहरूमा सहमतिका आधारमा नियुक्ति गर्ने र प्रदेशका मुख्यमन्त्रीहरूसम्म पनि फेर्ने प्रस्ताव गरेका थिए ।

त्यो प्रस्ताव स्वीकार नगरेपछि बुधबारको सचिवालय बैठकमा ओलीले पार्टीमा तेस्रो अध्यक्ष राख्ने र त्यसमा नेपाललाई प्रस्ताव गरेका थिए । बिहीबार साँझ ओलीसँगको भेटमा अडानमा कायमै रहेको र कुनै पदीय भागबन्डामा नलत्रिने जवाफ दिएर उनी फर्केको एक स्थायी समिति सदस्यले बताए । #anurnapurnpost

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation