जब पत्रकारहरु यातायात कार्यालयमा प्रवेश गरे, अनि ट्रायल नै रोकियो ३० मिनेट

बुटवल, २३ माघ ।
समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्ट र साझा टेलिभिजनका पत्रकारहरु ट्रायल सेन्टरमा प्रवेश गर्छन । केही फुटेज र भिडियोहरु कैद गर्छन । त्यसपछि यातायात कार्यालयका कर्मचारीहरु असजिलो महसुस गरी पत्रकारहरुलाई फुटेज र भिडियो खिच्न कसले अनुमति दियो भन्दै प्रश्न गर्छन ।

यातायात कार्यालयका कर्मचारीहरुको प्रस्तुतीले नै प्रमाणित गरिरहेको थियो कि ट्रायल सेन्टरमा केही त्रुटी भैरहेको थियो । अर्थात पत्रकारले पाएको विशेष सूचना सत्य प्रमाणित हुदैथियो । ट्रायलमा फेल भएकालाई पनि पास गराइन्छ भन्ने आम गुनासो कर्मचारीहरुको प्रस्तुतीले अझै पुष्टी गरिरहेको थियो । त्यहीक्रममा कर्मचारीहरु पत्रकारहरुलाई भिडियो र फोटो लिन नपाईने भन्दै कडा प्रतिबाद गर्छन । पत्रकारहरुपनि सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा पत्रकारहरुको चासो स्वाभाविक भन्दै सूचना संकलन गर्न पाउनुपर्ने तर्क गर्छन ।

कर्मचारी र पत्रकारहरुको विवाद केही समय तीब्र बन्दै थियो । उता चलिरहेको ट्रायल विवादकै विच ३० मिनेट रोकियो । कर्मचारीहरु पत्रकारहरु प्रवेश गरेकोमा आतंकित जस्तै बनेका थिए । यातायातका कर्मचारीहरु न त ड्रेसमा थिए न त परिचयपत्र नै बोकेका थिए । पत्रकारहरुको प्रतिबादका कारण कर्मचारीहरु आफ्ना कमजोरी बाहिर आउने डरले आतंकित देखिन्थे । कर्मचारीहरु बिना सूचना फुटेज लिन पाईदैन भन्दै थिए, पत्रकारहरु भने सार्वजनिक चासोको बिषयमा कुनैपनि अनुमति लिनु नपर्ने भनिरहेका थिए । केही समय दोहोरो बादविवादका कारण सेवाग्राही भने प्रभावित भए ।
केही दिन अगाडी लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने निर्णय भएको थियो । लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखहरुको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले यस्तो व्यवस्था लागू गर्न सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।

तर, मन्त्री थापाको उक्त निर्देशन विपरित यातायातका कर्मचारीहरुले विभिन्न झञ्झट देखाएर आफ्नै साधनबाट ट्रायल दिनबाट सेवाग्राहीलाई बञ्चित गरिरहेका थिए ।
यो सूचना पाएपछि पत्रकारहरुको टिम वास्तविकता के हो भन्ने बुझ्न ट्रायल सेन्टर प्रवेश गरेको हो । तर, कर्मचारीहरु भने मन्त्रीको निर्देशन समेत अवज्ञा गरिरहेकोले पत्रकारहरुको प्रवेशबाट असहज महसुस गर्न बाध्य भएका थिए ।
पत्रकारको टोलीले यातायात कार्यालयमा हुने गरेको अनियमितताका धेरै तथ्यहरु फेला पारेको छ । ती तथ्यहरु फलोअप गरिने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation