वामदेव दुबिधामा : ओलीले राजीनामा नदिने

आज साँझको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामाको लिखित निर्णय नगर्ने उनीनिकट एक नेताले बताएका छन्।

‘कोरोनाको यत्रो विपत बेला मुलुकलाई अस्थिरतातर्फ धकेलेर प्रधानमन्त्रीले पार्टीमा राजीनामाको लिखित घोषणा गर्नु हुन्न,’ ती नेताले सेतोपाटीसँग भने।

प्रधानमन्त्री ओलीले पनि शुक्रबार नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा राजीनामा नदिने स्पष्ट संकेत गरेका थिए। उपाध्यक्ष वामदेव गौतमलाई आफूपछि प्रधानमन्त्री बनाऔं भनी राखेको प्रस्तावको गलत प्रचार गरिएको पनि उनले आरोप लगाए।

प्रचण्डनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उनलाई शुक्रबारको भेटमा भने, ‘मैले वामदेवजीलाई म पछि प्रधानमन्त्री बनाऊँ भनेको हो, तपाईंहरूले त मैले अहिले नै राजीनामा गर्न लागेजसरी प्रचार गर्नु भएछ।’

बुधबार बसेको पार्टी सचिवालय बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। जवाफमा उनले कोरोना संकट सकिएपछि आफूले राजीनामा दिने भन्दै गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीले नेता नेपालको ‘मानमर्यादा’ नपुगेको गुनासो आएकाले उनलाई पनि पार्टीको तेस्रो अध्यक्ष बनाउने भन्दै प्रस्ताव गरेका थिए।

पार्टीभित्र आफ्नो राजीनामाको माग बढेपछि प्रधानमन्त्रीले वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव ल्याएर अल्मल्याउन खोजेको धेरैले आशंका गरेका थिए।

शनिबार साँझ ५:३० बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्रीले राजीनामा गर्नेुपर्ने र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ट रोडम्याप ल्याउन माग राख्ने प्रचण्ड-नेपाल पक्षका नेताहरूको तयारी छ। साथै, स्थायी समिति बैठक पनि तुरुन्तै बोलाएर पार्टीले आवश्यक निर्णय लिन उनीहरूले माग राख्नेछन्।

शुक्रबार प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले फेरि पनि स्थायी समिति बैठक बोलाउन आनाकानी गरेका थिए। प्रधानमन्त्रीले स्थायी समिति बैठक नबोलाऔं भनेपछि प्रचण्डले ‘साथीहरूले अधिकार प्रयोग गरेर बैठक माग गरेका छन्, त्यसबाट उम्किन मिल्दैन’ भनेका थिए। प्रधानमन्त्री ओलीले बैठक नबोलाए आफूले अधिकार प्रयोग गरेर बोलाउने पनि उनले बताएका थिए।

अध्यादेश प्रकरणपछि स्थायी समितिका २० जना सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका छन्। पार्टी विधानअनुसार २५ प्रतिशत स्थायी समिति सदस्यले लिखित माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ। वैशाख २६ गते १५ दिन पुग्दैछ।

प्रधानमन्त्रीले शनिबार राजीनामा दिन मानेनन् भने के गर्ने भन्नेमा सचिवालय सदस्य वामदेव गौतम भने दुबिधामा देखिएका छन्। उनीनिकट एक नेताका अनुसार प्रधानमन्त्रीले आजको आजै राजीनामा दिन मानेनन् भने के गर्ने भन्नेमा वामदेवले निर्णय गर्न सकेका छैनन्।

एकातिर प्रचण्ड-नेपालले शनिबार प्रधानमन्त्री ओलीले राजीनामा दिन नमाने वामदेवलाई धोका दिएको पुष्टि हुने भन्दै दबाब बढाएका छन्। अर्कातिर, प्रधानमन्त्री ओलीले पनि उनलाई उपयुक्त समयमा जसरी पनि प्रधानमन्त्री बनाउने भन्दै सचिवालयमा उनको साथ मागेका छन्। नौ सदस्यीय सचिवालयमा वामदेव जता लाग्छन्, त्यतै बहुमत पुग्ने स्थिति छ।

प्रधानमन्त्रीले शनिबारै राजीनामाको निर्णय नगरे पनि उनलाई केही समय दिने पक्षमा वामदेव रहेको संकेत उनले गरेका छन्। आफूनिकट नेताहरूसँग कुरा गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्रीलाई आजै राजीनामा दिनुस् भनेर च्याप्नु व्यवहारिक हुन्न कि!’

वामदेवको दुबिधाको कारण बुझ्न गाह्रो छैन। उनीसँग आफ्नै तागतमा प्रधानमन्त्री बन्न सक्ने सांसदको संख्या छैन। न त पार्टीमा उनको पकड छ। पार्टी एकीकरण गर्दा उनीसँगै नेकपा मालेबाट एमालेमा आएका धेरै नेता-कार्यकर्ता ओली वा नेपाल समूहमा मिसिइसकेका छन्।

‘श्रीमतीसहित मुश्किलले तीन जना सांसद उहाँका पक्षमा छन्,’ नेकपाका एक नेताले भने, ‘स्थायी समितिमा पनि एक जना मात्रै हो।’

प्रचण्ड-नेपाल समूहबाट प्रधानमन्त्रीका उम्मेदवार वामदेव होइन, माधव नेपाल हुन्। नेपाललाई प्रधानमन्त्रीका रूपमा वामदेवले नै अघि सारेका हुन्। प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिएनन् भने प्रकिया अघि बढेर संसदीय दलमा बहुमत पुग्दा नेपाल नै प्रधानमन्त्री हुन्छन्।

वामदेवको प्रधानमन्त्री बन्ने एउटै ‘आशे बाटो’ भनेको प्रधानमन्त्री ओलीले दिएको आश्वासन मात्रै हो। आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुगेका ७५ वर्षीय वामदेवलाई छोटो समयका लागि भए पनि प्रधानमन्त्री बन्ने घिडघिडो छ। त्यसैले आजको सचिवालय बैठकमा प्रधानमन्त्रीले लिखित राजीनामाको निर्णय नगरे पनि उनीविरूद्ध कडा कदम उठाउने पक्षमा वामदेव नउभिने सम्भावना छ।

उनलाई थाहा छ— प्रधानमन्त्री ओली रिसाए भने उनी प्रधानमन्त्री बन्ने बाटो त के, विषय पनि सकिन्छ। केही गरी वामदेवले प्रधानमन्त्रीलाई साथ दिए भने पनि उनीबिनै अघि बढ्ने मनस्थितिमा प्रचण्ड-नेपाल पुगेको एक नेताले बताए।

प्रचण्ड-नेपाल कम्तिमा आजको बैठकबाट स्थायी समिति बैठक बोलाउने र त्यहीँबाट निर्णय गरेर प्रधानमन्त्रीलाई राजीनामाका लागि बाध्य पार्ने तयारीमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation