
सैनामैना, १७ चैत ।
देशको ध्यान एसईई तर्फ केन्द्रित भैरहेको बेला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको सिंगो टोली भने रेष्टुरेण्टमा रमाइलो गरि फर्किने क्रममा शुक्रवार राती प्रहरीको नियन्त्रणमा परेको छ ।
सरकारी सवारी साधनको दुरुपयोग गर्दै राती साढे ९ बजेसम्म सैनामैना र पाल्पाको सिमामा पर्ने एक रेष्टुरेण्टमा रमाइलो गरेपछि फर्किदै गरेको उक्त टोली इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा परेको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बा २ झ १०१० नम्बरको उक्त सरकारी गाडी शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको हो ।
प्रहरीले उक्त सरकारी गाडी कुनै रेष्टुरेण्टमा रहेको सूचना प्राप्त भएपछि राजमार्गमा चेकजाँचका क्रममा करिव एक घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
एकातिर एसइई चलिरहेको छ, अर्कोतिर एसईईलाई मर्यादित, शान्तिपूर्ण, भयरहित र जिम्मेवारपूर्वक संचालन गर्ने जिम्मा लिएको शिक्षा विकास तथा समन्वय इकाईको टोलीले रातीको समयमा रेष्टुरेण्टमा रमाईलो गरेर उदाँगो चरित्र प्रदर्शन गर्न भ्याएको छ ।
प्रहरीको नियन्त्रणमा पर्ने कर्मचारीहरुमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडे, कर्मचारीहरु बिष्णु बेल्वासे, जीवन खनाल, झबिलाल बिक, तारा खनाल, बिजय चौधरी र चुरामणि मरासिनी रहेका छन ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार होटलमा बसेर मदिरा सेवन गरेको सूचना आएपछि उक्त सरकारी गाडी चेकजाँचमा परेको हो ।
प्रहरीले चेकजाँच गर्दा तीन बण्डल परिक्षाको उत्तर पुस्तिका समेत संगै भेटिनुले विद्यार्थीको भविष्यमाथि कर्मचारीहरुले कत्तिको लापरवाही गर्दा रहेछन भन्ने पुष्टी भएको छ ।
उता कर्मचारीहरुले भने गजेडी माबिमा कपि पुराएर निस्केको भन्दै सरकारी सम्पत्तिको दुरूपयोग नगरेको दावी गरेका छन ।
लापरवाहीको पनि सिमा हुन्छ । सरकारी सम्पत्तिको दुरुपयोग गर्दै त्यो पनि रातीमा एसईई सम्बद्ध जिल्लाको सिंगो शिक्षाको टिम मध्य रातीमा भेटिनुले कर्मचारीहरु कति गैरजिम्मेवार छन भन्ने कुरा उदांगो भएको छ ।