
३ वैशाख, बुटवल । सैनामैना नगरपालिकाको चालु आर्थिक वर्ष८०/८१को ९ महिना पुरा भएको छ । तर, सैनामैना नगरपालिकाको प्राथमिकता विकास निर्माणमा नहुँदा पूँजीगत विकास खर्च निकै कमजोर देखिएको छ । साउन-चैत्र सम्मको ९ महिनाको अवधिमा नगरपालिकाले पूँजीगततर्फ मात्र १४.९८ प्रतिशत खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा पूँजिगत खर्चको लक्ष्य ३२ करोड ७७ लाख ३० हजार रुपैयाँ रहेको छ । सामान्यतयाः पहिलो ६ महिनाको अवधिलाई सरकारी निकाययले पूर्वतयारी र ठेक्का पट्टा व्यवस्थापनको समय मान्छन् । तर, चैत्र मसान्त कटिसक्दा पनि विकास कछुवा गतिमा छ ।
चालु खर्च ५४.३४ प्रतिशत नाघ्यो
९ महिनाको अवधिमा चालु तर्फको खर्च भने घटेको छैन । यसअवधिमा कुल ४२ करोड २५ लाख १४ हजार ५ सय ७० रुपैयाँ चालु खर्च भएको छ । यो रकम लक्ष्यको ५४.३४ प्रतिशत हो । यस आवमा सैनामैना नगरपालिकाले ७७ करोड ७५ लाख ३८ हजार ७७४ रुपैयाँ चालु खर्चको लक्ष्य राखेको छ । ९ महिनामा कुल पालिकाको खर्च भने ३३.८४ प्रतिशत पुगेको छ ।