सैनामैना नगरस्तरीय वक्तृत्वकलामा स्वीकृती पाण्डे प्रथम

प्रमिला वि.सी., सैनामैना ।
सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा पाण्डे नगरका सहभागी विद्यालयलाई पछि पार्दै प्रथम भएकी हुन् ।

यस्तै सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विद्यालयकी छात्रा दर्शना ज्ञवाली द्धितिय स्थान र मलमलादेवी माध्यामिक विद्यालयका छात्र धर्मराज जैशी तृतिय स्थानमा आउन सफल भएका छन् । वक्तृत्वकला प्रतियोगितामा सैनामैना नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयले सहभागी जनाएका थिए । ‘सैनामैना नगर विकासका लागि मेरो सपना’ भन्ने शिर्षकमा सहभागी विद्यार्थीहरुले ५ मिनेट सम्म आफ्ना नगर विकासका लागि बुनेका सपनाहरु प्रस्तुुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले अहिले युवा पलायन भइरहेको अवस्थामा ९/१० मा पढ्दै गरेका भाइबहिनीहरुबाट नगर विकासका योजनाहरु आउन सक्ने भन्दै वक्तृत्वकलाको शिर्षक निकै महत्वपुर्ण रहेको कुरा बताउनुभयो । उहाँले अहिले ९/१० पढ्दै गरेका भाइवहिनीहरु कुनै न कुनै बेला नगरको नेतृत्व लिन सक्षम हुन सक्ने भन्दै अहिले देखिनै नगर विकासमा चाँसो राख्दै यी र यस्ता कार्यक्रमले जनप्रतिनिधिलाई झकझक्याउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । नगर प्रमुख शर्माले भाइवहिनीबाट नगर विकासका लागि आएका कुराहरुलाइ आफुले ग्रहण गर्ने समेत जानकारी गराउनुभयो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिका उप–प्रमुख विना रानाले वक्तृत्वकला जस्तो कार्यक्रमले विद्यार्थीको नेतृत्व विकासका साथै चौतर्फी विकास हुने भन्दै यस्ता कार्यक्रमहरु नछुटाउन सवै विद्यालयलाई आग्रह गर्नुभयो । नगरमा माध्यामीक तह सञ्चालनमा रहेका सस्थागत र सामुदायिक विद्यालयको संख्या २३ रहेको तर सवै विद्यालय नआएको भन्दै अव ति विद्यालयहरु किन नगरपलिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएनन् यस विषयमा आफै बुझ्ने र विद्यालयलाई सुझाव दिने समेत बताउनुभयो । उप–प्रमुख रानाले नगरको निति नियम अनुसार विद्यायलले विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालन गरेका छन् की छैनन् अव अनुगमनमा हिड्ने समेत जानकारी गराउनुभयो ।

सैनामैना नगर शिक्षा तथा युवा खेलकुद विकास शाखा प्रमुख राधा बेल्वासेले वक्तृत्वकला प्रतियोगिता धेरै वर्षमा नगरले आयोजना गरेको र यो विद्यार्थीहरुका लागि निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले आगामि दिनमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने र सवै विद्यालयलाइ तयारी रहन आग्रह गर्नुभयो ।

वक्तृत्वकला प्रतियोगिताको मुख्य निर्णयकमा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका एम एड कार्यक्रम संयोजक हुमकान्त बस्याल र खुदावगर आदर्श कलेजका नेपाली विषय विभागिय प्रमुख अरुण मरासिनीले विद्यार्थी भाइबहिनीको मुल्याङकन गर्नु भएको थियो । उहाँहरुले सहभागीलाई आगामी दिनमा विषय बस्तुको गहिराइमा पुगेर प्रस्तुतीकरण गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रम सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर कंडेल, विभिन्न बिद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थीतीमा सम्पन्न कार्यक्रमको स्वागत रमेश गैरे र सञ्चालन उपकार सञ्चार गृह प्रा.लि.का विमल गैरेले गनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation