एजेन्डामा दुई पक्ष सहमत हुन सकेनन्

२०७७ बैशाख २५ बिहीबार 

शीर्ष नेताहरूबीच विमति भएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार डाकिएको सचिवालय बैठक नै अपूरो भएको छ । 

नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपरेकाले अहिले अन्य विषयमा प्रवेश गर्न नसकिने भन्दै पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठकप्रति अनिच्छा देखाएका छन् । बैठकको बीचमा ओली उठेर हिँडेपछि सचिवालयले ठोस निर्णय गर्न सकेन ।

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सुरुमै संसद् अधिवेशन बोलाइसकिएको अवस्थामा अहिले मुख्य ध्यान सरकारको नीति तथा कार्यक्रम र बजेट तयारीमा दिनुपर्ने वेला सरकार र पार्टी कामको समीक्षासहितका एजेन्डामा केन्द्रित बैठक विषयवस्तु र समय दुवै हिसाबले औचित्यहीन हुने बताएका थिए । 

लगत्तै वरिष्ठ नेता नेपालले २० वैशाखको सचिवालय बैठकले पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्दै एकताबद्ध बनाउने निर्णय गरिसकेको अवस्थामा त्यसको भावविपरीत बैठक छल्न खोजेको भन्दै प्रतिवाद गरेका थिए ।

नेता नेपालले विधि, प्रक्रियासम्मत ढंगले सञ्चालन गर्ने गरी राजनीतिक प्रतिवेदन र एजेन्डामा केन्द्रित स्थायी कमिटी बैठक बसेर छलफल गर्नुपर्ने भनाइ राखेपछि प्रधानमन्त्रीले आफूविरुद्ध मोर्चाबन्दी भएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । ‘तपाईंहरू मेराविरुद्ध बाहिर–बाहिरै भेला, बैठक र मोर्चाबन्दी गरिरहनुभएको छ, कहिले हात्तीवन, कहिले कोटेश्वर र खुमलटारमा बैठक बस्नुहुन्छ, यसरी कसरी सहमति र एकतासहित अघि बढ्न सकिन्छ ?’ सचिवालयले त्यस्तै निर्णय गरेको हो ?, यसरी कसरी पार्टी चल्छ ?’ प्रधानमन्त्री ओलीको आक्रोश थियो, ‘सबै विषयमा अहिले छलफल गर्ने समय छैन, कमसेकम परिस्थिति कस्तो छ भन्ने बाध्यता बुझ्नुस्, अहिले स्थायी कमिटी बैठक जरुरी छैन, मलाई थकाइ लागेको छ, आराम गर्नुछ, अरू काम पनि छन्, कहिले बस्ने पछि कुरा गरौँला, तपाईंहरू छलफल गर्ने भए गर्नुहोस् ।’ 

प्रधानमन्त्री ओली बैठक राख्न जरुरी नभएको भन्दै बीचबाटै बाहिरिएका थिए । तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले आफ्ना केही व्यस्तता र शारीरिक कारणले समेत बैठकको पूरा समय बस्न नसक्ने जानकारी गराएर जानुभएको हो, अरू कुनै कारण होइन । बैठकमा सधैँ सबैजना बस्नुपर्छ भन्ने हुँदैन, कुनै काम पर्दा बैठकलाई जानकारी गराएर जान सकिन्छ, प्रधानमन्त्री पनि जानकारी गराएरै निस्किनुभएको हो ।’ 

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठक सार्न नहुने भन्दै प्रतिवाद गरेका थिए । अन्य सदस्यहरू भने बैठक स्थगितको पक्षमा थिए । 

गत २० वैशाखमा बसेको सचिवालय बैठकले उत्कर्षमा पुगेको शीर्ष नेताहरूको विवाद समाधान हुने गरी पार्टीलाई विधि, प्रक्रिया र कम्युनिस्ट मूल्य–मान्यता तथा आदर्शअनुसार अघि बढाउने र सरकार पार्टीको मार्गदर्शनमा चल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसहित नेताहरूले सामूहिक आत्मालोचना गरेपछि एकतासहित पार्टीलाई अघि बढाउने सहमति गर्दै बिहीबार (आज) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

त्यसैअनुसार प्रचण्ड र महासचिव विष्णु पौडेललाई राजनीतिक प्रतिवेदनसहित बैठकका कार्यसूची तय गर्ने जिम्मेवारी दिएका थिए । बैठकका एजेन्डा सरकारको नीति तथा कार्यक्रम र बजेटमा सुझाब लिने गरी तय गर्ने कि पार्टी र सरकारको कामको समग्र समीक्षा, अध्यादेश प्रकरण र एक व्यक्ति : एक मुख्य जिम्मेवारीको एजेन्डा बनाउने भन्नेमा विवाद भएको थियो । यी विषयमा ओली र प्रचण्डबीच कुरा नमिलेपछि राजनीतिक प्रस्तावसमेत तयार हुन सकेको थिएन । 

बुधबार ३ बजे डाकिएको सचिवालय बैठक करिब साढे ३ पछि मात्र सुरु भएको थियो । बैठकको सुरुवात गर्दै ओलीले करिब आधा घन्टा बोलेर अचानक उठेर हिँडेपछि बाँकी आठ नेताले बिहीबार डाकिएको बैठक के गर्ने भन्ने विषयमा केहीबेर छलफल गरेका थिए । प्रधानमन्त्री बाहिरिएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको अनुपस्थितिमा बाँकी छलफल गर्नु र सहमतिविनै स्थायी कमिटी बैठक बस्नुको औचित्य सकिएको धारणा राखेका थिए । 

‘प्रधानमन्त्री अचानक उठेर हिँडेपछि केहीबेर अब के गर्ने ? बस्ने कि नबस्ने ? छलफल भयो, तर उहाँको अनुपस्थितिमा बैठक बस्दा विवाद झन् चर्किन्छ, त्यस्तो नगरौँ भन्ने भयो,’ एक सचिवालय सदस्यले भने, ‘त्यसपछि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीसँग सल्लाह गरेर बस्न सक्ने अवस्था भयो भने बिहीबार थोरै समयका लागि भए पनि स्थायी कमिटी राखेर पछि बस्ने गरी स्थगित गर्दा हुन्छ, नत्र उहाँ तयार हुनुभएन भने आवश्यक गृहकार्यपछि दुई–चार दिनपछि बस्दा उपयुक्त हुने निष्कर्षसहित सचिवालय बैठक टुंगियो ।’ प्रवक्ता श्रेष्ठले दुई अध्यक्षले सल्लाह गरेर बैठकको कार्यसूची तय गर्ने गरी सचिवालय बैठक टुंगिएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation