दुई एजेन्डा तय, एजेन्डा थप्न दबाब दिने असन्तुष्ट नेताको तयारी -स्थायी कमिटी

कोरोना महामारीका बीच पार्टीभित्र चर्किएको किचलो व्यवस्थापन नहुँदै भारतसँगको सीमा विवादको मुद्दा सतहमा आएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्थायी कमिटी बैठक बोलाएका छन् ।

नीति तथा कार्यक्रम र बजेटअघि स्थायी कमिटी बोलाउने/नबोलाउने मात्रै होइन, २४ वैशाखमा बसेको सचिवालय बैठकले छलफलका एजेन्डा नै तय गर्न नसकेपछि २५ वैशाखका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । तर, बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट तथा भारतसँगको पछिल्लो सीमा विवादसम्बन्धी दुई एजेन्डामा मात्र छलफल गर्ने मंगलबार सहमति भएपछि ओली र प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

दुई अध्यक्षबीच मंगलबार भएको टेलिफोन वार्ता र महासचिव विष्णु पौडेलको गृहकार्यपछि बैठक बोलाइएको छ । ओली र प्रचण्डले भारतसँगको सीमा समस्या र स्थायी कमिटी बैठक र सम्भावित एजेन्डामा केन्द्रित रहेर आइतबार र सोमबार पनि छलफल गरेका थिए ।

महासचिव पौडेलले थप एजेन्डा तय नभएसम्म दुई विषयमा मात्र छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको बताए । उनका अनुसार सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट तथा सीमा समस्यालाई मात्र बुधबार बस्ने बैठकको कार्यसूची बनाइएको छ । ‘बुधबारका लागि ती दुई एजेन्डामा मात्र छलफल हुन्छ,’ उनले भने, ‘बाँकी एजेन्डा अनौपचारिक गृहकार्यपछि तय गरेर मात्र अर्को बैठक बस्छ,’ पौडेलले भने । 

सरकारले २ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । त्यस्तै, १५ जेठमा आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै छ । बुधबारको बैठक भने नीति तथा कार्यक्रम र सीमा समस्याबारे सुझाब लिएर केही दिनका लागि स्थगित गर्ने ओली र प्रचण्डको सहमति छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीसहित नेताहरू संसद्मै केन्द्रित हुनुपर्ने भएकाले तत्काल सबै एजेन्डामा छलफल गर्ने गरी बैठकलाई निरन्तरता दिने अवस्था नरहेको दुई अध्यक्षको बुझाइ छ । बाँकी एजेन्डा र अर्को बैठकका बारेमा भने बुधबार बस्ने स्थायी कमिटीमा पनि छलफल हुन सक्ने नेताहरूको भनाइ छ ।

उता, १० वैशाखमा लिखित रूपमा स्थायी कमिटी बैठकको माग गरेका असन्तुष्ट २० नेताले भने सरकार र पार्टी कामको समीक्षा पनि छलफलका लागि एजेन्डा तय गर्न दबाब दिने तयारी गरेका छन् । पार्टीमा एक व्यक्ति : एक मुख्य जिम्मेवारीको नीति कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका उनीहरू सरकारका कतिपय मन्त्री ‘भ्रष्टाचार’ प्रकरणमा पनि मुछिएको भन्दै समीक्षासहित अघि बढ्नुपर्ने पक्षमा छन् । यसबारे एजेन्डा तय नगरीकनै बैठक बोलाएकाले नेतृत्वले लामो समयसम्म बैठक छल्ने आशंका गर्दै उनीहरूले बुधबारको बैठकमा त्यसका लागि दबाब दिने रणनीति तय गरेका हुन् ।  #https://www.nayapatrikadaily.com/news-details/43213/2020-05-13

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation