चैतसम्म बैंकहरूको नाफा सवा ४५ अर्ब

१३ बैंकहरूको नाफामा सामान्य बृद्धि, ११ बैंकको भने घट्यो, लगानीकर्ता र निक्षेपकर्ता डराउनु नपर्ने अवस्था

२०७७ जेठ १ बिहीबार

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको नाफामा खासै सुधार नभएको तथ्यांकले देखाएको छ । २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म बैंकहरूले ४५ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १ दशमलव ३५ प्रतिशत मात्रै बढी हो । गत आवको यही अवधिसम्म ४४ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।  

२७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म बैंकहरूले ४५ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन् ।

बैंकहरूको मुख्य व्यवसाय आम्दानी मानिने खुद ब्याज आम्दानीमा ३० प्रतिशतले कमी आएपछि नाफामा सुधार नभएको हो । बैंकहरूको आम्दानीका अन्य माध्यम शुल्कबाट हुने आय र अन्य सञ्चालन आम्दानी पनि घटेको छ । डलरको भाउमा भएको वृद्धिले भने बैंकहरूको विनिमयबाट हुने आम्दानी ६ प्रतिशतले बढेको छ । हाल प्रतिडलरको मूल्य १ सय २१ रुपैयाँ छ । 

पछिल्लो समय बैंकहरूमा बढेको प्रतिस्पर्धा र बन्दाबन्दीका कारण चैतको २० दिनमा उठ्ने शुल्कहरूका कारण पनि नाफा घटेको बैंकरहरूको भनाइ छ । ‘बैंकहरूको नाफा केही अघिदेखि नै सुस्तिन थालेको थियो, तीव्र प्रतिस्पर्धाका कारण बैंकहरूको अन्य आम्दानीको आधार शुल्क र कमिसन घटिरहेको थियो,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने ।

 विदेशी मुद्राको कारोबारसमेत बन्दाबन्दीका कारण रोकिएकाले यसमा हुनेभन्दा कम दरमा मुनाफा भएको बैंकरहरू बताउँछन् । यो अवधिमा बैंकहरूले ९८ अर्ब रुपैयाँ खुद ब्याज आम्दानीबाट कमाउँदा १७ अर्ब शुल्क तथा कमिसन, विदेशी मुद्रा विनिमयबाट ७ अर्ब र अन्य सञ्चालन आम्दानीबाट २ अर्ब २७ करोड कमाएका छन् । 

लगानीकर्तालाई कम प्रतिफल 

यो वर्ष कतिपय बैंकले लगानीकर्तालाई प्रतिफल नै दिन नसक्ने देखिएको छ । सनराइज, सिद्धार्थ, लक्ष्मी र सिभिल बैंकले लगानीकर्तालाई प्रतिफल दिन नसक्ने देखिएको छ । नाफा रकमबाट वितरणयोग्य आय छुट्याउनुअघि बैंकहरूले विभिन्न कोषमा रकम राख्नुपर्ने हुन्छ । 

यी बैंकहरूले ती कोषमा समेत आवश्यक सबै रकम राख्न नसकेकाले वितरणयोग्य आय नै नकारात्मक छ । ‘नाफा नै कम भएकाले त्यो रकमबाट विभिन्न कोषमा राख्नुुपर्ने रकमका कारण यसपटक लगानीकर्तालाई प्रतिफल दिन सकिने अवस्था देखिँदैन,’ सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भने । 

अन्य बैंकहरूको समेत सेयरमा लगानी प्रतिफल घट्ने देखिएको छ । ५ वटा वाणिज्य बैंकको मात्र सेयरमा प्रतिफल वृद्धि भएको छ । हिमालयन, एभरेस्ट, मेगा, नेपाल एसबिआई, सिटिजन्स र सेन्चुरी कमर्सियल बैंकको सेयर प्रतिफल मात्र वृद्धि भएको छ ।   

निक्षेपकर्ता डराउनु नपर्ने 

बैंकहरूसँग पर्याप्त पुँजीकोष अनुपात रहेकाले निक्षेपकर्ताले भने डराउनुपर्ने अवस्था नरहेको बैंकरहरू बताउँछन् । ‘पुँजीकोष पर्याप्त अनुपात ८ प्रतिशत भए पुग्ने भए पनि राष्ट्र बैंकले ११ प्रतिशत हुनुपर्ने प्रावधान राखेको छ,’ दाहालले भने, ‘बैंकहरू नोक्सानमा जालान् र निक्षेपकर्तालाई समेत असर पर्ला भनेर चिन्ता लिनुपर्ने अवस्था भने छैन ।’ हाल ४ संस्थाको मात्रै ११ प्रतिशत हाराहारी पुँजीकोष पर्याप्त अनुपात छ । अन्य सबैको १२ देखि १९ दशमलव ८२ प्रतिशतसम्म छ । 

बैंकलाई तीन महिनाको डर 

बन्दाबन्दीको अवधि बढ्दै जाँदा बैंकको नाफा थप संकुचन हुने डर देखिएको छ । यही समयमा राष्ट्र बैंकले समेत सबै कर्जाको ब्याजदर २ प्रतिशत बिन्दुले घटाउन भनेपछि बैंकरहरूले यसलाई संशोधन गर्न माग गर्दै आएका छन् । राष्ट्र बैंकले भने आधार दरभन्दा कम हुने गरेर ऋणको ब्याजदर घटाउनुपर्ने अवस्था नरहेकाले यसमा संशोधनको आवश्यकता देखेको छैन । 

बैंकहरूले ठूला व्यवसायीलाई आधार दरमा थोरै मात्र थपेर ब्याज लिने भएकाले पनि ठूला कर्जाको ब्याजदर खासै नघट्ने देखिन्छ । बैंकहरूको कर्जा र निक्षेपको ब्याजअन्तर यही असारसम्म ४ दशमलव ४ मा ल्याइसक्नुपर्छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जाको नघटाएकाले राष्ट्र बैैंकले यो नीति लिएको बुझिएको छ । हाल १३ बैंकहरूको स्प्रेडदर ५ प्रतिशतमाथि छ । 

# Nayapatrika#

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation