महासंघले भन्यो– ‘कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज चाहिन्छ’

२०७७ जेठ १ बिहीबार 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज आवश्यक पर्ने जनाएको छ । महासंघले आफ्ना प्रदेश च्याप्टरका पदाधिकारीसँग गरेको छलफलमा अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त स्टिमुलस प्याकेज ल्याउन जोड दिंदै उद्योगी व्यवसायीका कुरालाई सुनिएन आगामी दिनमा मुलुक आर्थिक रूपमा निकै ठूलो समस्यामा जाने बताए । 

विश्व नै कोरोनाको त्रासमा रहेको अहिलेको समयमा विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसायसहित अर्थतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण राहत कार्यक्रम घोषणा गरिसकेको तर सरकारले भने अहिलेसम्म पनि आकर्षक स्टिमुलस प्याकेज ल्याउन नसकेको भन्दै आगामी बजेटमार्फत् त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको महासंघले जनाएको छ ।

त्यसका लागि सरकारमा निरन्तर दबाब दिनुपर्ने उनीहरूको भनाइ छ । 

बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अति संवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालु गर्नुपर्ने, लकडाउनको समयको बैंक व्याज मिनाहा गर्नुपर्ने, महासंघले सरकारमा पेस गरेको सुझाव कार्यान्वयनमा निरन्तर दबाब दिनुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल बीउ–विजनको पर्याप्त आपूर्ति गर्न दबाब दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्नेलगायतका माग महासंघको छ । # Baahrakhari.com#

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation