विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनको प्रश्न

निरंकुश पंचायती कालारात्रीका दिनहरू थिए त्यो बेला । सम्पुर्ण राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । कोही पनि राज्यको विरुद्ध जुलुस त के सास काढ्नु पनि अपराध ठहरिन्थ्यो । यसैबीच बि.स. २०२१ साल बैशाखमा उपत्यका स्तरीय अन्तरकलेज बिद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले निम्न मागसहित संघर्ष गर्ने निर्णय गर्यो ।
१. गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने ।
२. सबै राष्ट्रघाती आसमान सन्धि सम्झौता हरु खारेज गर्नुपर्ने ।
३. स्ववियु खोल्न पाउनुपर्ने ।
४. बन्दी विद्यार्थीहरु बिनासर्त रिहा गर्नुपर्ने ।

पाँच दिनसम्म चलेको सम्मेलन सम्पन्न भएसँगै जेठ १ गते उपत्यकामा विद्यार्थीहरुको बिशाल जुलुस प्रदर्शन भयो । जुलुसमाथी पंचायती सत्ताले निर्मम दमन गर्‍यो । सयौं विद्यार्थीहरु र कैयौं प्रहरी घाइते भए । त्यसपछि उपत्यका ब्यापी आम हडताल सुरु भयो । जसको परिणाम स्वरुप पंचायती सत्ता केहि हदसम्म झुक्न बाध्य भयो, स्ववियु खोल्न पाउने अधिकारको वहाली भयो र बन्दी विद्यार्थीहरु रिहा भए । यसरी विद्यार्थी आन्दोलनले सफलताको एउटा सिढी चढेको उपलक्ष्यमा हरेक बर्ष जेठ १ गतेलाई विद्यार्थी दिवसको रुपमा मनाइन्छ ।

त्यस्तै बि.स. २०२२ जेष्ठमा अखिल नेपाल सम्मेलन नामको विद्यार्थी संगठनको प्रथम सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले सुजन खरेलको संयोजकत्वमा ११ सदस्यीय केन्द्रिय समिति निर्बाचित गर्यो । विभिन्न आरोह अवरोह; टुट, फुट, बिभाजन, त्याग, बलिदान, समर्पण र एकताको अनन्य शृङ्खला पार गर्दै अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी) हुँदै आजको संगठन अनेरास्ववियू बनेको हो । यसका अन्य धाराहरु पनि छन्; जस्तो अनेरास्ववियु (छैटौं), अखिल (क्रान्तिकारी) आदि । तसर्थ जेष्ठ १ गतेलाई विद्यार्थी संगठन स्थापना दिवसको रुपमा पनि हामी स्मरण गर्दछौं ।

बिडम्बनाका साथ भन्नुपर्छ आजसम्म पनि २१ सालमा राखेका १ र २ न. बुदाका माग पुरा हुन सकेका छैनन् । सम्पुर्ण असमान सन्धि सम्झौताहरु आज पनि खारेज भएका छैनन् । गोर्खा भर्ती केन्द्र भिन्न रुपमा जारी छ । राणा शासन बाट तिब्र बनेको वैदेशिक हस्तक्षेप बि.स. २००७ साल वरिपरि तिर चरम उत्कर्षमा पुग्यो । राणाकालमा ब्रीटिश साम्राज्यको हस्तक्षेप चरम थियो जसलाई राणाहरु आफैले निम्त्याएका थिए । भने त्यसपछिको स्वतन्त्र भारतले पनि नेपालमाथिको हस्तक्षेप लाई निरन्तरता मात्र दिएन बढाउदै लग्यो । आज भारतीय हस्तक्षेप सिमा अतिक्रमण र माइक्रो म्यानेजमेन्टको तहसम्म ओर्लिसकेको छ । जसमा विभिन्न सममयमा गरिएका असमान सन्धि सम्झौताहरु नै मुल रुपमा जिम्मेवार छन् ।

बिद्यार्थी आन्दोलन लाई आजको उचाईसम्म ल्याउन हजारौंको रगत र लाखौं नेता कार्यकर्ताहरूको पसिना बगेको छ । हाम्रो बिगत गौरवगाथाहरुले भरिपूर्ण छ । किन्तु आजको बिद्यार्थी आन्दोलन र संगठनको औचित्य माथि बिभिन्न कोण र प्रतिकोण बाट प्रश्नहरू उठेका छन् । जुन प्रशहरु अकारण छैनन् । राजनीतिक संघर्षको अग्रभागमा लडेका विद्यार्थी संगठनका नेताहरू आज अमुक नेताको बफादार कारिन्दा भएको आरोप छ । हिजो भ्रष्टाचार र अनियमितताका विरुद्ध धावा बोल्ने हाम्रो संगठन र क्याम्पसका स्ववियुहरु भ्रष्टाचार र चन्दा संकलनका अखडा भएको आरोप छ । हिजो सिंगो सत्ता विद्यार्थी संगठन र नेताहरू सँग भयभीत हुन्थ्यो आज एउटा कलेजवालाले फलानो संगठनको फलानो प्रमुख नेतालाई पालेको छ किनेको छ भन्ने आरोपहरु छन् । हिजो निजी शैक्षिक संस्थाका मालिकहरु शुल्क बढाउन दस पटक सोच्थे आज खुलेआम प्राइभेट एफिलेसनमा संगठन र नेताहरू माथी आरोप छ । यि आरोपहरु लान्छना मात्र होइनन् यिनमा केहि सत्यता छ केही बढाईचढाई होला केहि आरोप त अपुग पनि होलान् ।
आज त्रिभुवन विश्वबिधालय भित्र प्राइभेट प्रोग्रामहरु संचालनमा छन् र प्राइभेट नभनिएका प्रोग्रामहरुको अवस्था पनि प्राइभेट सरहको छ । शैक्षिक गुणस्तर वृद्धिको नाममा उहि पाठ्यक्रम, उहि प्रणाली, उहि भौतिक ब्यबस्थापनमा सारमा उहि शिक्षा को लागि पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले नै ब्रह्मलुट मच्चाएको छ । अन्य विश्वविद्यालय, मेडिकल शिक्षा र निजी शैक्षिक संस्थाभित्रको ब्यथा कहिनसक्नु छ । संबिधान प्रदत्त शैक्षिक अधिकारको सुनिश्चितताको अभाव त घाम जत्तिकै छर्लङ्ग छ ।  राज्य संयन्त्र भित्र फैलिएको भ्रष्टाचारको बिषय कलाकार र पत्रकारले उठाउने र हामीले उल्टै रक्षा गर्ने बिडमबनापूर्ण परिवेश आज बनेको छ । कहिलेकाही विभिन्न परिवेश र सन्दर्भमा हुने हाम्रा आन्दोलनहरु मौसमी र औपचारिकतामा सिमित छन् । के भन्दा हुन गंगालाल, चिनियाँकाजी र बेनोजहरुले हाम्रो बर्तमानको रवैया निरिक्षण गर्न पाए ??

बिद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको जगमा उपर्युक्त कहालीलाग्दो बर्तमानम हामी खडा छौँ । के हामी उपर्युक्त प्रशनहरुको जवाफ दिन तयार छौँ ? के हामी बर्तमानका कटुसत्यलाई पचायर संगठन लाई नयाँ रुप बिद्यार्थी आन्दोलन लाई नयाँ दिशानिर्देश गर्न तयार छौँ ? के हामी निर्मम आत्मसंघर्ष र अन्तर्संघर्ष गर्न तयार छौँ ? वा यहाँ भित्र पनि आफ्नो भजनमण्डली तयार गर्ने र सिंगो संगठन लाई पार्टीको त परै जावस अमुक गुट र ब्याक्तिको रक्षकवचको रुपमा प्रयोग गर्ने प्रपंचमा लागीराख्छौँ । यी प्रशनको जवाफ र सोहि अनुरुपको व्यबहारले हाम्रो बर्तमानको औचित्यता कसको निम्ति र केको निम्ति पुष्टि गर्दछ ।

वास्तवमा बर्तमानले हामीलाई परिमार्जित नयाँ नयाँ अभिभाराहरु सुम्पेको छ । बिद्यार्थी आन्दोलनको औचित्यता र आवश्यकता नयाँ ठाउँमा उठेको छ । हाम्रा अग्रजहरुले कायम गरेको गौरव लाई कायम गर्दै नयाँ अभिभारा पहिल्याउन र ति अभिभारा पुरा गर्ने हाम्रो पुस्ताको दायित्व हो । सोही दिशामा हामी सबैलाई आजको दिनले प्रेरणा मिलोस विद्यार्थी दिवसको अवसरमा सबैलाई शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation