सुस्त तयारी : कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन भएको ८० दिन, लकडाउन सुरु भएको ५८ दिन : तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए
अहिलेको अबस्था : कोभिडका बिरामीलाई उपचार गर्न देशभरि १६२४ आइसोलेसन बेड, ३९६ आइसियू र १५६ भेन्टिलेटर, अहिलेसम्म ४२७ संक्रमित, ४५ जना घर फर्किए
कोभिड रोकथाम तथा उपचार गर्न १८ फागुनमा गठन भएको उच्चस्तरीय समितिले ८० दिन पार गरेको छ । त्यस्तै, ११ चैतमा सुरु भएको लकडाउनले पनि दुई महिना छुन खोज्दै छ । कोभिड बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिएका छन् । त्यसमा पनि १२ वटा अरू संस्थाले दिएका हुन् ।
सरकारले कोभिड उपचारका लागि जम्मा तीन सय ९६ आइसियू र एक सय ५६ भेन्टिलेटर तयार पारेको छ । आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन सय ८५ स्वास्थ्यकर्मी तयार छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार निक साइमन फाउन्डेसनले १० वटा भेन्टिलेटर सहयोग गरेको छ भने वान हार्टनामक गैरसरकारी संस्थाले दुईवटा दिएको छ । यसबीचमा टेकु अस्पतालले तीनवटा भेन्टिलेटर खरिद गरेको हो ।
निक साइमन फाउन्डेसनले टेकु अस्पतालका लागि भनेर आठ भेन्टिलेटर दिएको थियो । ‘टेकु अस्पतालले भेन्टिलेटर व्यवस्थापनको तयारी पनि गरेको थियो, जिल्लामा पनि चाहियो भनेर अन्तिममा एउटा मात्र दिइयो,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । यसरी निक साइमन दिएको एउटा र अस्पतालले किनेका तीन गरी टेकुमा चार भेन्टिलेटर थपिएका छन् । टेकुमा चार भेन्टिलेटर पहिल्यै थिए ।
निक साइमनले दिएका १० भेन्टिलेटरमध्ये दुईवटा बाग्लुङ, दुई बुटवल, दुई सुर्खेत, दुई धनगढी, एउटा वीरगन्ज र एउटा टेकु अस्पतालमा राखिएको छ । त्यस्तै वान हार्टले दिएको दुईमध्ये एउटा विराटनगर र एउटा बाग्लुङ पठाइएको महानिर्देशक श्रेष्ठले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सात भेन्टिलेटर किन्ने तयारी गरेको छ । तर, अहिलेसम्म आइसकेका छैनन् ।
कान्ति बाल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका २६ भेन्टिलेटर बिग्रिएका छन् । कान्ति बाल अस्पतालमा १०, वीरमा आठ र राष्ट्रिय ट्रमा सेन्टरमा आठवटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा छन् । तर, यो महत्वपूर्ण चार महिना ती भेन्टिलेटर मर्मत गर्ने काम पनि भएको छैन ।
कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेल भन्छन्, ‘बिग्रिएका १० भेन्टिलेटर मर्मत गर्न २० देखि २५ लाख रुपैयाँ लाग्छ । बीचमा महावीर पुनको टोलीले भेन्टिलेटर बनाउने चर्चा आएको थियो, तर त्यो काम अघि बढेन ।’
शिक्षण अस्पताल महाराजगन्जमा ६ र राष्ट्रिय ट्रमा सेन्टरका सातवटा भेन्टिलेटर मर्मत भएका छन् । हाल शिक्षणमा २० र ट्रमा सेन्टरमा १७ भेन्टिलेटर सञ्चालनमा छन् ।
सरकारले कोरोना भाइरस संक्रमितको अवस्था जटिल भएमा आइसियूमा भर्ना गर्नुपर्ने जनाउँदै १५ दिनभित्र उपत्यकामा एक सय २० आइसियू थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार अस्पतालले २० बेडका दरले आइसियू थप्ने गरी रकम निकासा पनि भएको थियो । तर, १५ दिनभित्र गर्ने भनिएको काम दुई महिनामा पनि पूरा भएको छैन ।
निर्णय भएको पहिलो साता नै २० बेड आइसियू ल्याएको टेकु अस्पतालले अहिलेसम्म ती बेड सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालमा अक्सिजन प्लान्ट नभएका कारण आइसियू जडानमा ढिलाइ भएको हो । अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडा भन्छन्, ‘अक्सिजन प्लान्टको जडानले केही ढिला भएको हो, अब छिटै जडान गर्छौँ ।’ टेकु अस्पतालले ४० बेड आइसियू थप्ने जिम्मेवारी पाएको छ ।
त्यस्तै पाटन अस्पतालले भने नयाँ जडान गर्नुको विकल्पमा पुरानै र नचलेका आइसियूलाई कोभिड उपचारका लागि तयार पारेको छ । ‘सरकारले भनेअनुसार २१ बेड आइसियू तयार पारिएको छ,’ अस्पतालका निर्देशक डा. विष्णु शर्मा भन्छन् ।
यता वीर अस्पतालले भने आइसियू थप्न पाएको १२ करोड ५० लाखमध्ये एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । वीरले दुई महिनासम्म खरिद प्रक्रिया पनि अघि बढाएको छैन । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘अब चाँडै नै प्रक्रिया अघि बढाइनेछ ।’
देशभर कोभिड संक्रमितका लागि कहाँ कति आइसोलेसन बेड, आइसियू, भेन्टिलेटर र आइसियूमा काम गर्ने स्वास्थ्यकर्मी (क्रिटिकल केयर तालिम लिएका) छन्
साभार नया पत्रिका