आइसोलेसन वेड जम्मा १९७ !

९ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो । तर आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरूसँगै बसे ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको थियो, जुन यसअघि नै संक्रमितले भरिइसकेको छ । त्यही कारण जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका ८ जनालाई दाङ पठाउनु परेको थियो ।

सोमबार थपिएका ५९ जनालाई ३६ घण्टापछि नेपालगञ्जको डेन्टल अस्पतालमा लगियो । त्यहाँ पनि नअटाएपछि २५ आइसोलेसन बेडमा ५९ जनालाई कोचियो ।

नेपालमा कोरोना संक्रमण देखिएको चार महिनामा पनि संक्रमित राख्ने आइसोलेसन बेड व्यवस्था गर्न नसक्नु सरकारको लापरवाही रहेको इपिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । ‘महामारी फैलने पूर्वअनुमान गर्न नस्कनु राज्यको ठूलो कमजोरी हो’ उनी भन्छन्, ‘आइसोलेसन बेड मात्र होइन, क्वारेन्टाइन भन्दै भेडाबाख्रा जसरी मानिसहरु खाँदिएको छ, यसले त्यहीबाट संक्रमण फैलाउँछ ।’

नरैनापुर त एउटा प्रतिनिधि ठाउँ मात्र हो । अहिले प्रदेश ५ मै आइसोलेसन वेडको अभाव हुन थालेको छ । र, संक्रमितको संख्या बढ्दै जाँदा देशभर समस्या हुने देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशरभरका निजी तथा सरकारी अस्पतालहरुमा गरेर कोभिड–१९ को बिरामीलाई उपचार गर्न भनेर ३ हजार ७६ आइसोलेसन बेड, १ हजार ५९५ आईसीयू र ८४० वटा भेन्टिलेटर छ ।

करिव ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा मात्र १९७ वटा आइसोलेसन वेड छ । यहाँका ७ अस्पतालमा १०१ आईसीयू र ४९ वटा भेन्टिलेटर छ ।

काठमाडौं उपत्यकामा संक्रमण बढेमा यो पूर्वाधारले नधान्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

मन्त्रालयले मे २०२० मा कोभिड–१९ महामारीको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान बनाएको छ । त्यसअनुसार संक्रमितको संख्या दुई हजार पुग्दा १६ सय जनालाई आइसोलेट गर्नुपर्छ । उनीहरुमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिनसक्ने अनुमान गरिएको छ ।

यही तथ्यांकलाई आधार मान्ने हो भने उपत्यकामा एक हजार मानिस संक्रमित भएमा अस्पतालको पूर्वाधारले धान्दैन । ‘संक्रमण बढ्न थालेपछि सरकारले उपचार गर्न सक्दैन भन्ने पूर्वाधार हेर्दा नै थाहा हुन्छ’ डा. मरासिनीले अनलाइनखबरसँग भने, ‘अहिले मानिसहरुले क्वारेन्टाइनमा त राम्रोसँग बस्न पाएका छैनन् भने भोलि भेन्टिलेटर आवश्यक परे कहाँबाट पाउनु ?’

सरुवा रोगको उपचार गराउने केन्द्रीय अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा ५ वटा मात्र आइसोलेसन बेड छ । थप ३० आइसोलेसन बेड बनाउने भनेर काम सुरु गरेको भए पनि अहिलेसम्म पूरा भएको छैन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ८ वटा आइसोलेसन बेड छ भने २० वटा भेन्टिलेटरसहित ५१ वटा आईसीयू वेड छ । शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘हामीलाई सरकारले लेभल–थ्री अस्पताल भनेको छ । यहाँ अपरेशन गर्नुपर्ने अवस्थामा मात्र कोभिडका बिरामी ल्याइन्छ ।’

त्यहाँ हाल एक संक्रमितको उपचार गराइरहेका छन् ।

२ महिनाअघि सरकारले १५ दिनभित्र उपत्यकामा १२० आईसीयू वेड थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार (वीर, पाटन र टिचिङ) अस्पतालले २० बेडका दरले आईसीयू थप्ने गरी रकम निकासा पनि भएको थियो ।

तर १५ दिनभित्र गर्ने भनिएको काम दुई महिनामा पनि पूरा भएको छैन । टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी भन्छन्, ‘अस्पतालमा अक्सिजन प्लान्ट नभएको कारण आईसीयू जडान गर्न सकिएन, अब छिट्टै जडान गर्छौं ।’

ललितपुरस्थित पाटन अस्पतालले भने २१ वटा आईसीयू जडान गरिसकेको बताएको छ । सरकारले भनेअनुसार नै आईसीयू तयार पारिएको बताउँदै अस्पतालको निर्देशक डा. विष्णु शर्मा भन्छन्, ‘सरकारले निर्णय गर्नासाथ हामीले १५ भेण्टिलेटरसहित २१ वटा आईसीयू बेड तयार पारेका छौं ।’

सशस्त्र प्रहरी अस्पताल बलम्बुले १२० वटा आइसोलेसन वेड कोभिड–१९ का लागि छुट्याएको छ । यसमध्ये २० वटा आईसीयू र २ वटा भेन्टिलेटर सहित छ । सशस्त्र प्रहरी अस्पतालका कोभिड संयोजक डा‍. महेन्द्रराज श्रेष्ठले भने, ‘हाम्रो अस्पतालको २ वटा बिल्डिङलाई कोभिडको लागि भनेर छुट्याएका हौं ।’

मुलुककै जेठो अस्पताल वीरले भने दुई महिनासम्म खरिद प्रक्रिया नै अघि बढाएको छैन । आईसीयू थप्न पाएको १२ करोड ५० लाखमध्ये एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । वीरले अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले अनलाइनखरसँग भने, ‘अब चाँडै नै प्रक्रिया अघि बढाउने तयारी छ ।’

यस्तै काठमाडौं मेडिकल कलेज, दुवाकोटसँग २४ वटा आइसोलेसन बेड छ भने ९ वटा आईसीयू र २ वटा मात्र भेन्टिलेटर छ । १० वटा आइसोलेसन बेड छुट्याएको भक्तपुर अस्पतालसँग भने आईसीयू र भेन्टिलेटर दुबै सुविधा छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation