संक्रमित बढे छुट्टै रणनीति !

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै अहिले तोकिएका बाहेकका अस्पतालले पनि संक्रमितको उपचार गर्ने बताउँछन् । सबै निजी अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको भन्दै उनले भने, ‘आउने अवस्था सामना गर्न हामी सबै तयार रहनुपर्छ ।’

मन्त्रालयका आपतकालीन व्यवस्थापन महाशाखाका प्रमुख डा. गुणराज लोहनीकाअनुसार मन्त्रालयको विज्ञ टिमले गरेको अध्ययनमा दुई हजार संक्रमित पुगेको अवस्थामा १६ सय जनालाई मात्र आइसोलेसनमा राख्नुपर्ने देखिएको छ । उनीहरूमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र सय जनालाई आईसीयू चाहिन सक्छ । मन्त्रालयले यसलाई पहिलो चरणको उपचार रणनीति भनेको छ ।

यस्तै दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुग्यो भने दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । उनीहरूमध्ये चार हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने अवस्था आउनसक्छ भने ७५० जनालाई अक्सिजन सपोर्ट र २५० जनालाई आईसीयू केयर चाहिने स्वास्थ्य मन्त्रालयको आकलन छ ।

यस्तै पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यसमा आठ हजारलाई आइसोलेट गर्नुपर्ने हुनसक्छ भने १५०० लाई अक्सिजन सपोर्ट र ५०० लाई आईसीयू चाहिन सक्छ ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड–१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो ।

संक्रमितको संख्या बढ्दै गएपछि सबैलाई अस्पतालमा राख्न नसकिने मन्त्रालयका विज्ञ सल्लाहाकार कार्की बताउँछन् । उनकाअनुसार त्यो अवस्थामा बिरामीको अवस्था, शरीरमा भाइरसको सक्रियता र जोखिम अध्ययन गरेर घरमै राख्ने व्यवस्था समेत गरिन्छ । #अनलाइन खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation