एक व्यक्ति एक परीक्षण नीति, नेपालमा अबदेखि कोरोना संक्रमितको पुनः परीक्षण नहुने

डब्ल्यूएचओको नयाँ मापदण्ड अनुसार अब डिस्चार्ज हुने बेलामा पीसीआर परीक्षण गर्न पर्दैन र लक्षण विहिन संक्रमितलाई ३ दिनमा नै घर पठाउने भनिएको छ ।

काठमाडौं १८ जेठ  सरकारले कोरोना भाइरस रोग (कोभिड १९) का बिरामीलाई संक्रमण पुष्टि भएपछि अब पुनः पीसीआर परीक्षण नगर्ने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले केही दिन अघि मात्रै पीसीआर परीक्षणका सम्बन्धमा नयाँ मापदण्ड बनाई त्यही अनुसार अघि बढ्न सुझाए अनुसार सरकारले एक व्यक्तिलाई जम्मा एक पटक मात्रै परीक्षण गर्ने रणनीति लिएको छ । डब्ल्यूएचओको नयाँ मापदण्ड अनुसार अब डिस्चार्ज हुने बेलामा पीसीआर परीक्षण गर्न पर्दैन र लक्षण विहिन संक्रमितलाई ३ दिनमा नै घर पठाउने भनिएको छ । आज हामी त्यसै अनुसार निर्णय गर्छौं इडिमियोलाजि तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.बासुदेव पाण्डेले भन्नुभयो ।

उहाँले हालसम्म नेपालमा देखिएका अधिकांश संक्रमितहरु लक्षण विहिन भएको र त्यस्ता संक्रमितबाट १० दिनपछि अर्काे व्यक्तिमा संक्रमण हुने सम्भावना अत्यन्तै न्यून रहने र भाइरस आफैं निस्कृय हुने भएकाले उनीहरुलाई थप पीसीआरको जरुरत नहुने बताउनुभयो । नेपालमा संक्रमितहरु कोरोनामुक्त हुन संक्रमण पुष्टि भएको तेस्रो दिनदेखि ४२ दिनसम्म लागेको छ । शनिबार मकवानपुरकी २५ वर्षकी गर्भवति महिलामा संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै कोरोना मुक्त भइन् । यसका अलवा केही संक्रमितहरु पाचाैं दिनमा पनि कोरोनामुक्त भएका छन् ।

नेपालका ८० प्रतिशत संक्रमितहरु लक्षण विहिन छन् ।

पीसीआर परीक्षणका सम्बन्धमा डब्ल्यूएचओले बैज्ञानिक आधारमा मापदण्ड बनाएको छ तर नेपालको सन्दर्भमा त्यो कति उपयुक्त हुन्छ सो विषयमा हामी छलफल गर्दैछौ, पाण्डेले भन्नुभयो यसअघि संक्रमण पुष्टि भएपछि कम्तिमा २ पटकको पीसीआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने नीति नीति परिर्वतन गरी एक व्यक्तिलाई जम्मा एक पटक मात्र परीक्षण गर्नेछांै, त्यो भनेको संक्रमण पत्ता लगाउन गरिने पहिलो परीक्षण हो । नेपालमा संक्रमण पुष्टि भएको छैठौ पटक सम्म पीसीआर परीक्षण गरिएको थियो अब तेस्तो हुँदैन डा.पाण्डेले भन्नुभयो ।

डा.पाण्डेका अनुसार यदि लक्षणसहित संक्रमण भई अस्पतालमा राखिएको छ भने त्यस्ता व्यक्तिलाई लक्षण हराएको ३ दिनपछि पीसीआर परीक्षण बिना डिस्चार्ज गरिनेछ ।

नेपालका ८० प्रतिशत संक्रमितहरु लक्षण विहिन छन् । जसलाई लेभल १ कै अस्पतालले पनि धान्न सक्छ अथवा घरमा नै आइसोलेट भई सावधानीपूर्वक बसेमा स्वतःनिको हुने देखिएको छ । क्वारेन्टाइनहरु व्यवस्थित बनाई निरन्तर स्वास्थ्यकर्मीहरुको निगरानीमा राखेमा संक्रमण अन्यमा फैलन पाउदैन । तर हालको क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यहाँबाट नै संक्रमण फैलिरहेकोमा विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार साँझसम्म गरेका अद्यावद्यिक विवरण अनुसार हालसम्म ६६ हजार ७२९ जनाको पीसीआरबाट परीक्षण भएको छ । यो तथ्यांकमा संक्रमण पुष्टि भइसकेपछि पुनः परीक्षण गरिएकाहरुको पनि समावेश गरिएको छ ।

नेपालमा यो समाचार तयार पार्दा सम्म १ हजार ४ सय ४१ जनालाई कोरोना भाइरस पुष्टि भएको छ । ७ जनाको कोरोनाका कारण मृत्यु भइसकेकोे छ ।

आइसोलेसनमा उपचाररत संक्रमितहरु
प्रदेश नम्वर १ मा १३०, प्रदेश नम्वर २ मा ४४२, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा १७, प्रदेश नम्वर ५ मा ४९६ र कर्णाली प्रदेशमा ६१ र सुदुरपश्चिममा १५ जना  गरि १ हजार १७६ जना आइसोलेसनमा उपचाररत छन् ।

संक्रमितको प्रादेशिक विवरण
संखुवासभामा पनि संक्रमण देखिएसंगै ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट प्रदेश नम्वर २ अति प्रभावित भएको छ  त्यहाँका सबै आठ जिल्लामा गरि ५४७ जनालाई कोरोना पुष्टि भएको छ । प्रदेश नम्वर १ को ९ जिल्लामा १६०, बागमती प्रदेशका १२ जिल्लामा ४५, गण्डकी प्रदेशको ६ जिल्लामा २३, प्रदेश नम्वर ५ को ९ जिल्लामा ५४७,कर्णाली प्रदेशको ६ जिल्लामा १०३ र सुदुरपश्चिमका ५ जिल्लामा २१ जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

जगन्नाथ ढकाल हेल्थपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation