‘प्रदेश सरकारले समन्वय र सहकार्य भएन मात्र निर्देशन भयाे ’

कपिलवस्तु – कोरोना भाईरस संक्रमण बिरुद्धको लडाईमा संघ र प्रदेश सरकारले प्रयाप्त सहयोग नगरेको कपिलवस्तुका स्थानिय तहका जनप्रतिनिधीले गुनासो  गरेका छन् ।

जिल्लामा दिनप्रतिदिन कोरोनाको संक्रमण फैलिदा समेत संघ र प्रदेशले सुनुवाई नगरेको पालिकाको आरोप थियो । उनिहरुले संक्रमण भेटिएका पालिकालाई बिशेष ध्यान नदिएको, बजेट खर्चको स्विकृती नदिएको, क्वारेन्टिनमा बढि व्यक्ति रहेका पालिकामा परिक्षण किटमा बृद्धि नगरेकोमा आक्रोश पोखे । जिल्ला कोरोना जोखिम व्यवस्थापन समितिको अगुवाईमा जिल्लाका प्रदेशसभाका प्रतिनिधी, स्थानिय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र स्वास्थ्य प्रमुख बिचको छलफलमा स्थानिय तहका प्रमुखले संघ र प्रदेशका प्रतिनिधीले निर्देशन मात्रै दिने तर सहयोग र समन्वय नगरिदिएको गुनासो गरेका हुन् ।

छलफलमा सहभागी नगर प्रमुख र गाँउपालिका अध्यक्षले परिक्षण किट अभाव हुदाँ संघ र प्रदेशमा कतै सुनुवाई नभएको, संक्रमण भेटिएका पालिकालाई बिशेष ध्यान नदिएको, बजेट खर्चको स्विकृती नदिएको, क्वारेन्टिनमा बढि व्यक्ति रहेका पालिकामा बढि परिक्षण किट नपठाईएको, संघ र प्रदेशका जनप्रतिनिधीले पालिकाका लागि समन्वय गर्ने र अवलोकनको कार्य पनि नगरेको गुनासो गरेका छन ।


सरकारले कोरोना संक्रमण रोक्न सबै मिलेर जुध्ने भने पनि संघ र प्रदेशले स्थानिय सरकारको रमिता हेरे झै गरेको भन्दै छलफलमा सहभागी यशोधरा गाँउपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले आक्रोश पोखे । “क्वारेन्टिन पनि बनाउ, आईशोलेशन पनि बनाउ भन्दै निर्देशन आउछ । गाँउपालिका भित्रै पुर्वाधार छैन, आईशोलेशन कसरी बनाउ ?” पाण्डेयले प्रतिप्रश्न गरे । मुख्यमन्त्रीले किट उपलब्ध गराउने भन्दै आश्वासन मात्रै बाडेको तर किट पठाउन पहल नगरेको, सम्बन्धित मन्त्रीले फोनै नउठाएको, प्रतिनिधी सभा सदस्य र प्रदेश सभाका सदस्यले संक्रमणको दायरा बढदै गए पनि पालिका सम्म पुग्न पनि कुनै चासो नराखेको भन्दै उनले दुखेसो गरे । “क्वारेन्टिन भरि मान्छे छन, परिक्षण गर्न किट उपलब्ध हुदैन । परिक्षण गरिएन भन्दै मान्छे भाग्छन, साँसद र प्रदेश सदस्यले कुनै पहल गर्दैनन । सबैले स्थानिय सरकारको रमिता हेर्न खोजे ।” उनले भने । प्रदेशका सामाजिक बिकास मन्त्री दुई दिन अघि जिल्ला आए पनि अरु अरु पालिकामा गएको जानकारी पाएको तर सबै भन्दा बढि संक्रमित भेटिएको यशोधरा गाँउपालिका सम्म नपुगेको उनको आरोप थियो । प्रदेश सरकारले गाँउपालिकालाई १० लाख दिएर चुपचाप बसेको भन्दै उनले आक्रोशित मुद्रामै भने “ के प्रदेश सरकारले १० लाख दिएर माहाभारत जित्यो ? स्थानियले नै गर्नु परे प्रदेशको के काम, प्रदेशले नै सबै गरे संघको के काम ? ”। संघ र प्रदेशका माननियलाई पटक पटक किट अभाव, परिक्षणमा ढिलाई, क्वारेन्टिन र आईशोलेशनका लागी पुर्वाधार अभाव भएको बिषयमा पहल गर्न अनुरोध गरे पनि कुनै सुनुवाई नगरी प्रत्यक्ष रुपमै असहयोग गरेर आफुहरुको रमिता हेर्न खोजेको पाण्डेयको भनाई थियो ।


कपिलवस्तु नगरपालिका नगर प्रमुख किरण सिंहले प्रदेश सरकारका मन्त्री र प्रतिनिधीले माईकमा बोल्ने बाहेक फिल्डमा काम गर्न ध्यान नपुर्याएको बताए । परिक्षण किट पालिकाले नै किन्नु परेको र स्वास्थ्यकर्मी भाडामा लिएर काम गरेको बताउदै कोरोना संक्रमण नियन्त्रणमा संघ र प्रदेश सरकारले असहयोग गरेको उनले आरोप लगाए । “हामीले पालिकामा बसेर ४८ घण्टामा भिटिएम किट मगायौं । केन्द्रले तिन महिना सम्म किन्न सकेन । संघ र प्रदेश सरकारको काँचो कामले हामीलाई आलोचित बनायो ।” नगर प्रमुख सिंहले आक्रोश पोख्दै भने ।


संक्रमण देखिएको तिन महिना सम्म संघ र प्रदेशको तयारी प्रभावकारी नभएको प्रष्ट पार्दे स्थानिय तहमा पुर्वाधार अभावका कारण क्वारेन्टिनको मापदण्ड समेत पुर्याउन नसक्दा आलोचित बन्नु परेको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँले बताए । “भन्नलाई त पालिकामा आईशोलेशन बन्यो, तर संक्रमितलाई मापदण्डबिहिन आईशोलेशनमा राख्नु परेको बाध्यता सम्झेर आत्मा रोएको छ । संघ र प्रदेश सरकारबाट उपयुक्त समन्वय नहुदाँ हामी समस्यामा परेका छौ ।” नगर प्रमुख खाँले भने । जिल्लामा स्वाब संकलनका लागी आवश्यक पर्ने भिटीएम किट आफैले खरिद गरे पनि प्रयोगशालाले बढि नमुना संकलन भएको भन्दै किट लिन नमान्ने गरेको उनले गुनासो गरे । “परिक्षण नभए मान्छे भाग्छन भनेर राती १२ बजे पनि फोन आउछ । परिक्षणका लागी आफैले किट किने पनि समयमै परिक्षण हुन सक्दैन ।” उनले थपे । क्वारेन्टिनका लागी बिद्यालयको बिकल्प खोज्न समेत खाँले आग्रह गरे । संघ र प्रदेश सरकारको भुमिका प्रति उनी समेत खुसी देखिएनन ।


संघ र प्रदेशले परिक्षणको दायरा बढाउन समन्वय गरि दिन आवश्यक रहेको मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी कुर्मीले माग गरे । संघ र प्रदेश सरकारले परिक्षण किट सहज रुपमा उपलब्ध नगराएको बताउदै बाणगंगा नगरपालिकाका प्रमुख मंगल थारुले परिक्षण किट सहज रुपमा उपलब्ध गराउन माग गरे । भारतबाट आउने प्रवासी नेपालीलाई राख्न कृष्णनगर र मर्यादपुरमा सञ्चालनको निर्णय भएको होल्डिङ्ग सेन्टर चाडै शुरु गर्न आवश्यक रहेको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए । कपिलवस्तु अस्पताललाई ५० शैयाको कोरोना अस्पतालको रुपमा बिकास गर्न आवश्यक रहेको प्रदेशसभा सदस्य रिना नेपालले बताईन । प्रदेश सभा सदस्य बिष्णु पन्थीले बाणगंगा नगरपालिकामा ५० शैयाको कोरोना उपचार केन्द्र र पिपरा अस्पतालमा पिसिआर ल्याब सञ्चालनको कार्य अगाडी बढि सकेको जनाए । बिकास निर्माणको कार्य अघि बढाउन नदीजन्य पदार्थको निकासी सहज गर्नु पर्ने उनको सुझाव थियो । हाल जिल्लामा ४ सय ९५ शैयाको आईशोलेशन निर्माण भै सकेको र १ हजार क्षमताको आईशोलेशन बनाउन तत्कालै पहल गर्नु पर्ने प्रजिअ दिर्घ नारायण पौडेलले बताए । उनले आगामी दिनलाई समेत मध्य नजर गरि जिल्लामै कोरोना अस्पताल स्थापना गर्न आवश्यक रहेको बताए । हाल सम्मका क्वारेन्टिन र आईशोलेशन व्यवस्थित हुन नसके पनि अब बन्ने आईशोलेशनलाई व्यवस्थित बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख नारायण खनालले सुझाव दिए । प्रदेश सभा सदस्य अर्जुन केसीले संघियताको अवधारणामा बनेका सबै संरचना नयाँ भएकाले केहि समस्या आएको हुन सक्ने बताए । स्थानिय सरकारलाई कार्यकारी अधिकार भएकाले प्रदेशले समन्वयकारी भुमिका खेलेको उनको स्पष्टोक्ति थियो । संक्रमणका बिषयमा बढि त्रास फैलाउने काम भएको बताउदै शुरुमै होम क्वारेन्टिनको अबधारणा प्रबर्धन गर्न नसकिएको स्विकार गर्दै अब भने पुर्व यारी आवश्यक रहेको केसीले बताए । प्रदेशसभा सदस्य तथा सामाजिक बिकास समितीका सभापति दृघनारायण पाण्डेयले कोरोना माहामारी सँग लड्न सबैले आन्तरिक तुष्टी हटाई मिलेर जानुको बिकल्प नरहेको बताए ।


आईतबारसम्म जिल्लामा कुल २ सय ७० जनामा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमण बढि भेटिएकामा यशोधरा गाँउपालिकाका १ सय जना, माहाराजगंज नगरपालिकाका ४७ जना, कृष्णनगर नगरपालिकाका ३५ जना, कपिलवस्तु नगरपालिकाका २८ जना र बिजयनगर गाँउपालिकाका १६ जना छन । मायादेवी गाँउपालिकामा १५ जना, बाणगंगा नगरपालिकाकामा १२ जना, बुद्धभुमी नगरपालिकामा ८ जना, शिवराज नगरपालिकामा ७ जना र शुद्धोधन गाँउपालिकामा २ जनामा संक्रमण पुष्टी भैसकेको छ । १० वटै स्थानिय तहमा निर्मित क्वारेन्टिनमा अहिले ४ हजार ८ सय २ जना रहेका छन । त्यसै गरि संक्रमण भेटिएका २ सय ७० मध्य १८ जना निको भएका छन । संक्रमित मध्य ३३ जना बुटवल र दाङ्गको आईशोलेशनमा उपचाररत रहेका छन भने २ सय २२ जना जिल्लाका बिभिन्न स्थानिय तहमा निर्मित आईशोलेशनमा रहको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तथ्याङ्क छ ।

 खग प्रसाद चापागाई बुटवल टुडेबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation