दैलेखमा सोमबार साँझसम्म ९८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लामा रहेका क्वारेन्टाइन व्यवस्थित छैनन् । आइसोलेसन बेडका लागि स्थान अभाव देखिएको छ । आइसोलेसन अस्पताल बनाउने स्थान नै अभाव भएपछि संक्रमित क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता छ । क्वारेन्टाइनमा अवस्था पनि भद्रगोल छ । सामाजिक दूरी कायम गरिएको छैन ।
दैलेख बजारस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा १२ दिनदेखि दुई सय १८ जना बस्दै आएका छन् । उनीहरूका लागि शौचालय एउटा मात्र छ । स्थान अभाव भएपछि छतमै सुत्नुपर्ने अवस्था आएको छ । सोमबार दिउँसोसम्मको रिपोर्टलाई आधार मान्ने हो भने ३४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरू अहिले पनि दुई सय १८ जनाकै हुलमै छन् । क–कसको रिपोर्ट पोजेटिभ आएको छ भन्ने जानकारीसमेत दिइएको छैन ।
अवस्था जटिल बन्दै जान थालेपछि नारायण क्याम्पसको क्वारेन्टाइन नै सिल गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरूले सुझाब दिएपछि जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्का, जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख डा. निरञ्जन पन्त र सुरक्षाकर्मीको टोलीले सोमबार छलफल गरेको थियो । तर, कुनै निष्कर्ष ननिस्केपछि अपराह्न ४ बजे क्वारेन्टाइनमा बसेकाहरू नाराजुलुस गर्दै झोला बोकेर बाहिर निस्केका थिए । एक घन्टापछि उनीहरूलाई सम्झाई–बुझाई पुनः क्वारेन्टाइनमा राखिएको थियो ।
अधिकांशको रिपोर्ट शंकास्पद आएकाले नारायण क्याम्पसलाई नै आइसोलेसन अस्पतालका रूपमा विकास गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले जानकारी दिए । कर्णाली प्रदेश सरकारले जति बिरामी भए पनि जिल्लामै व्यवस्थापन गर्न निर्देशन दिएपछि दैलेखको अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्यकर्मी नभएको आइसोलेसनमा कोरोना संक्रमित
बाँके/पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर–लमही सडकखण्डको जिरोबाट झन्डै दुई किलोमिटर दक्षिणमा जनमुखी सामुदायिक वन उपभोक्ता समूहको भवन छ । चारतिर जाने बाटोको चोकमा रहेको भवन होचो पर्खालले घेरिएको छ । तीनकोठे भवनमा चार हप्तादेखि तीनजना युवक बस्दै आएका छन् ।
सरकारले नेपालगन्ज नाका भएर आउन नदिएपछि तीनैजना नरैनापुर हुँदै राप्तीसोनारी गाउँपालिका–२ स्थित गाउँमा आएका हुन् । पहिले पाँचजना बस्दै आएकोमा दुईजना घर गएपछि तीनजना बस्दै आएको उनीहरूले बताए । तीनजना बस्दै आएको सामुदायिक भवनदेखि दुई सय मिटर दक्षिण र पश्चिममा लहरै लागेका घर छन् । भवन सुनसान छ । त्यहाँ न सुरक्षाकर्मी छन्, न त स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधि नै ।
भारतको महाराष्ट्रबाट फर्किएका पाँचजनाको पिसिआर विधिबाट कोरोना जाँच गराउँदा तीनजनामा कोरोजना पोजेटिभ देखियो । त्यसपछि पनि उनीहरूलाई लिन न त सुरक्षाकर्मी आए न त स्वास्थ्यकर्मी र जनप्रतिनिधिले नै चासो देखाए । तैपनि उनीहरूले सामुदायिक वनको भवनलाई आइसोलेसन अस्पतालका रूपमा लिएर इमानदारीसाथ सुनसान भवनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
सामुदायिक वनको भवनमा कोरोना पोजेटिभ भएको जानकारी गाउँपालिकाले समेत धेरै पछि थाहा पायो । गाउँपालिकाले दुई दिनअघि मात्र एक बोरा चामल, एक क्यारेट अन्डा, दाल, तेल, नुन पठाएको एक कोरोना संक्रमितले बताए । उनले खाना पकाउने भाँडावर्तन पनि नपाएको गुनासो गरे । कोरोना पोजेटिभ रिपोर्ट आएको एक हप्ता बितेपछि गाउँपालिकाले बल्लतल्ल पलङ, ओढ्ने र ओछ्याउने दिएको अर्का कोरोना संक्रमित बताउँछन् । ‘बेड र दाल, चामल पाएको दुई दिन भयो । योभन्दा पहिले बेन्च जोडेर सुत्थ्यौँ,’ उनले भने ।
कोरोना पोजेटिभ देखिएको १२ दिन बित्दासमेत स्वास्थ्य परीक्षण नभएको एक संक्रमितले बताए । आफूहरू स्वस्थ भए पनि स्वास्थ्यकर्मीले समय–समयमा स्वास्थ्य जाँच गरिदिएको भए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको छ । आइसोेलेसनमा कति दिन बस्नुपर्ने भन्ने पनि राम्रो जानकारी नभएको उनीहरू बताउँछन् । ‘कति दिनपछि कोरोना निको हुन्छ भन्ने जानकारी अहिलेसम्म कसैले गराएका छैनन् । कति दिन आइसोलेसनमा बस्नुपर्ने हो न स्वास्थ्यकर्मीले भनेका छन्, न त गाउँपालिकाका जनप्रतिनिधिले नै भनेका छन् । हामी अन्योलमा छौँ,’ एक संक्रमितले भने ।
सामुदायिक वनको आइसोलेसन बेडमा रहेका तीनजना कोरोना संक्रमितको अवस्थाप्रति सजग भएको स्थानीय पूर्णबहादुर खत्रीले बताए । गाउँपालिकाले वास्ता नगरेपछि गाउँलेले तरकारी, चामल, दाल, नुन, तेल दिँदै आएको उनको भनाइ छ । ‘आइसोलेसनमा बसेकाहरू आफ्नै छोरा, भतिजा सम्झेर खानपिनको जोहो गर्दै आएका छौँ,’ खत्रीले भने, ‘गाउँपालिकाको भर परेको भए उनीहरू भोकभोकै बस्न पर्ने अवस्था आउँथ्यो ।’
गाउँपालिका अध्यक्ष लाहुराम थारूले कोरोना संक्रमित बसिरहेको भन्ने जानकारी धेरैपछि मात्र थाहा पाएको स्वीकार गरे । उनले सामुदायिक वनको भवनमा कोरोना संक्रमित बसेको जानकारी पाउनासाथ पलङ, बिस्तारा, दाल, चामल, नुन, तेल पठाइदिएको दाबी गरे । ‘खाना पकाउने भान्से र खानाका लागि खाद्यान्न पठाइएको छ,’ उनले भने, ‘भान्सेले भात पकाए–नपाएको जानकारी छैन ।’ उनले संक्रमितको उपचारमा समस्या आउन सक्ने भएकाले यातायात सुविधा भएको ठाउँमा सार्ने तयारी गरेको बताए ।
प्लास्टिकको पाल क्वारेन्टाइन, चिसो भुइँमा सुत्नुपर्ने बाध्यता
- मुगुको खत्याड गाउँपालिकाले प्लास्टिकको पाल टाँगेर बनाको क्वारेन्टाइन ।
मुगु/खत्याड गाउँपालिकाले भारतबाट आएकालाई तरकारी खेती गर्ने प्लास्टिकको पालको क्वारेन्टाइन बनाई पाटन क्षेत्रमा राखेको छ । भारत तथा अन्य जिल्लाबाट आएकालाई राख्न १० स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । अव्यस्थित क्वारेन्टाइनमा नागरिक भेडाबाख्राजस्तै कोचिएर बस्न बाध्य छन् ।
समुद्री सतहबाट २६ सय मिटर उचाइमा रहेको हलेखाडाको क्वारेन्टाइनमा ४८ र छोटेमा स्थापना गरिएका क्वारेन्टाइनमा एक सय १९ जनालाई राखिएको छ । एउटा पालमुनि २० देखि २५ जनालाई राखिएको छ । चिसो भुइँमाथि सुत्नुपर्दा कोरोनाको संक्रमणभन्दा चिसोले ज्यान जाने खतरा रहेको त्यहाँ बस्नेको गुनासो छ । क्वारेन्टाइनमा बसेदेखि अहिलेसम्म कसैको ज्वरो नापिएको छैन । आरडिटी र पिसिआर परीक्षणसमेत कहिले हुने हो ? थाहा छैन । शौचालय र खानेपानीको समस्या छ । सरसफाइका सामग्री उपलब्ध गराइएको छैन । बिहान–बेलुका एक छाक भात खान दिइएको छ । आफूहरूलाई पशु चौपायाभन्दा तल्लो व्यवहार गरेर पाटनमा राखिएको भारतको नैनितालबाट फर्किएका खत्याड गाउँपालिका–३ का रविन बानियाँले बताए ।
साभार नयाँपत्रिका