सांसद गिरीद्वारा संविधान संशोधन खारेज गर्न प्रस्ताव दर्ता, पार्टीले गर्याे कारबाहीको चेतावनी

काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । उनको संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए ।पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै उनको पार्टी समाजवादीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।साभार इकान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation