काठमाडौं : झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन्। कोठाबाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु। निर्णय लिन गाह्रो भइरहेको छ। यसो गरुँ कि उसो गरुँ भइरहेको छ।’उद्यमी बमलाई झैं धेरैलाई अहिले अन्योलको भूमरीमा पार्ने काम कोरोना भाइरसले गरेको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमण नेपालमा पनि बढेको छ। मुलुकका ७३ जिल्लामा संक्रमण फैलिएको छ। कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा गरेको थियो। यस अवधिमा कोरोना भाइरसको संक्रमण घट्नु साटो झन् झन् बढ्यो। जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो।अहिलेसम्म मुलुकभित्र १९ जनाको कोरोना भाइरसबाट ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, विदेशमा रहेका १ सय २७ जना नेपालीको मृत्यु भएको छ। बेलायत, अमेरिका, युएई, साउदी अरेबिया, कुबेत, कतार, जापान, टर्की लगायत १३ वटा मुलुकमा रहेका नेपालीको मृत्यु भइसकेको छ।
खुकुलो लकडाउनको जोखिम
चैत ११ गते घोषित लकडाउनमा सहजीकरण गर्ने सरकारी निर्णयसँगै निर्वाधरूपमा राजधानी भित्रनेको संख्या बढेको छ। संक्रमितको संख्या दिनानुदिन बढेका बेला लकडाउनलाई कडाई गर्नुपर्नेमा झन् खुकुलो बनाउँदा जोखिम चुलिएको विज्ञको भनाइ छ। कोरोनाका नयाँ संक्रमित दैनिक तीन सयको हाराहारीमा वृद्धि भइरहेको बेला आइतबार ४ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बाहिरी जिल्लाबाट यात्रा गरेर आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छैन। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना भाइरसको परीक्षण गरेर आउनु पर्दैन। मन्त्रालयको निर्देशिकामा उल्लेख गरिएको व्यवस्थाबाहेक कोही कसैको पनि परीक्षण नगर्न÷नगराउन स्वास्थ्य संस्था, प्रयोगशाला र सरोकारवाला निकायमा अनुरोध गरिएको उनले बताए। ‘कुनै पनि व्यक्ति यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ। जहिले पायो त्यहीले। जसलाई पायो त्यसलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन्छ। त्यो समय पारेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ।’ उनले भने। यद्यपि, अत्यावश्यक नभई यात्रा नगर्न र घरबाहिर जानै पर्ने भए व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र सावधान अपनाउन उनी आग्रह गर्छन्।
सरकारले लकडाउन खुकुलो गर्ने घोषणा गरेसँगै कोरोना भाइरसको संक्रमण सर्ने÷सार्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। जनजीवन सामान्यतर्फ लैजान सरकारले लकडाउनमा सहजीकरण गरे पनि यात्रुले सावधानी नअपनाउने गरेकाले जोखिम रहेको उनको भनाइ छ। काठमाडौंका सडकमा सवारीसाधन चल्न थालेका छन्। पैदल एवं सवारी यात्रुको चाप बढेको छ। सरकारको निर्णयबाट नै वैशाख २४ गते चहलपहल र आवागमन बढेको हो। जेठ २८ गते जोरबिजोर प्रणालीमा सवारीलगायत कार्यालयसमेत सञ्चालन गर्ने निर्णयपछि आवागमन ट्राफिक जामसमेत सुरु भइसकेको छ। सडकमा प्रदर्शनी एवं नाराबाजीसमेत भइरहेको छ।
कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट आउने नेपालीको व्यवस्थापन र सीमाबाट फर्केका व्यक्तिको स्वास्थ्यमा विशेष निगरानी नराखेका कारण जोखिम पनि बढेको छ। वरिष्ठ सघन उपचार (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की संक्रमणको जोखिम झन् बढेको भन्दै सावधानी अपनाउन सुझाव दिन्छन्। उनी भन्छन्, ‘ भरसक घरबाहिर ननिस्केकै राम्रो हुन्छ। निस्कनु परे मास्क लगाएर सावधानीपूर्वक हिँडडुल गर्नु उपयुक्त हुन्छ।’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो समय सडकमा आउनुपर्ने नभएको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘यो समय सडकमै आउनुपर्ने हो र ? होइन। कोरोनाको चुनौती सकिएको छैन, बरु बढ्दैछ। भारतको बढ्दो संक्रमणले पनि चुनौती थपेकै छ। सचेत बनौं।’
संक्रमितका हिसाबले छिमेकी भारत विश्वको तेस्रो मुलुक बनेको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ। झन्डै चार लाख भाइरसबाट संक्रमित छन्। वैशाख १९ मा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशनसमेत दिएको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा लकडाउनले जनजीवन अस्तव्यस्त भएको जनाउँदै निर्देशन दिएको थियो। लकडाउन खुकुलो भएसँगै सरकारविरोधी प्रदर्शन जारी छन्। मुख्यमन्त्री पोखरेलले त सडकमा नउत्रन आग्रह गर्दै फेसबुकबाट आग्रह गरेका छन्, ‘प्रदेश ५ सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्नुहोला। सडकमा जानु पर्दैन। कुरा सुनिन्छ।’
स्वास्थ्य मन्त्रालयले भीडभाड एवं प्रदर्शनका कारण संक्रमण जोखिम उच्च हुने जनाउँदै संक्रमितको संख्या बढेमा उपचार गर्न नसकिने जनाएको छ।
स्वास्थ्य मन्त्रालयले भीडभाड एवं प्रदर्शनका कारण संक्रमण जोखिम उच्च हुने जनाउँदै संक्रमितको संख्या बढेमा उपचार गर्न नसकिने जनाएको छ। काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रका घनाबस्तीमा संक्रमण भए अस्पतालले उपचार धान्न नसक्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। ‘भीडभाडले धेरै संक्रमण बढ्दै गएमा दैनिक १० हजारको परीक्षण गर्ने संख्या पनि अपुग हुनसक्छ’, उनले भने। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, क्वारेन्टाइन अव्यवस्थित भएको र कन्टयाक्ट ट्रेसिङमा प्रभावकारी नभएकाले समुदायमा फैलने जोखिम झन् बढेको दाबी गर्छन्। ‘कोरोना भाइरसविरुद्ध लड्ने तालुकदार स्वास्थ्य मन्त्रालयमा कर्मचारीको सरुवा र हेरफेर गर्नमै व्यस्त छ। यस खालको गतिविधिले कोरोना नियन्त्रणमा झन चुनौति थपेको छ’, डा. प्याकुरेलले भने।
संसदीय समितिले कोरोनाको संक्रमण यकिन गर्न हरेक परिवारको एक सदस्य छनोट गरी स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। स्वास्थ्य परीक्षणको दायरा बिस्तार गर्न जनस्तरबाट दबाब आइरहेको बेला निर्देशन दिएको हो। कोरोना नियन्त्रणका लागि आदेश जारी वा योजना बनाउँदा विज्ञको सल्लाह लिन पनि सरकारलाई निर्देशन दिएको छ। डा. प्याकुरेल भन्छन्, ‘जिल्ला तहदेखि केन्द्र तहसम्म काम गरेका अनुभवी र विज्ञहरूलाई सरकारले बेवास्ता गरेको छ।’
अस्पताल सिल गर्नु पर्दैन
जेठ १३ र १५ मा भर्ना भएका दुई बिरामी र उपचारमा संलग्न तीनजना कर्मचारीमा कोराना संक्रमणको पुष्टि भएसँगै काठमाडौं मेडिकल कलेज (केएमसी) मा केही दिन सिल गरियो। सेवाहरू बन्द हुँदा अन्य बिरामीसमेत मर्कामा परे। जेठ २० मा कास्कबिाट अचेत अवस्थामा उद्धार गरी ल्याइएका ६० वर्षीय कोरोना संक्रमितको डिस्चार्जपछि हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) अस्पतालले सिल गरेन। न त चिकित्सक एवं स्वाथ्यकर्मीलाई क्वारेन्टाइनमा राख्यो। ह्याम्सका अध्यक्ष आरएस भण्डारीका अनुसार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर कोरोना संक्रमितको उपचार गरेका कारण अस्पताल सिल गर्नु परेन। उपचारमा संलग्न स्वास्थ्यकर्मीसमेत क्वारेन्टाइनमा बस्नु परेन।’
यसअघि कोरोना संक्रमित बिरामीको पुष्टिसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज र ग्राण्डी इन्टरनेशनल हस्पिटलले केही दिन सम्बन्धित वार्ड सिल गरेका थिए। ह्याम्सका कार्यकारी निर्देशक एवं मुटुरोग विशेषज्ञ डा. ज्योतीन्द्र शर्मा भन्छन्,‘ कोरोना संक्रमित दिनानुदिन बढिरहेका छन्। उपचार गरी डिस्चार्ज गर्ने क्रममा अस्पताल सिल गर्ने र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने हो भने उपचारमा झन् भयावह अवस्था उत्पन्न हुन्छ। अन्तर्राष्ट्रिय एवं राष्ट्रिय मापदण्ड अपनाउँदा उपचार गर्दा अस्पताल सिल गर्नै पर्दैन।’
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल २१ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। दुई सातापछि परीक्षणको दायरासमेत बिस्तार गर्ने गृहकार्य भइरहेको उनी बताउँछन्। असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण गर्ने योजना छ। स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएका पीसीआर जाँचका नमूनाहरू आवश्यक प्रक्रिया पूरा गरी निजी ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ। यसका लागि जाँच्न लाग्ने खर्च मन्त्रालयले व्यवस्था गरेको जनाइएको छ।
अब के गर्ने ?
जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितका अनुसार, सरकारले पीसीआर परीक्षणको दायरा बिस्तार गर्नुपर्छ। ‘क्वारेन्टाइन व्यवस्थितदेखि ट्रेसिङ कार्यसम्म प्रभावकारी बनाउनुपर्छ’, उनले भने। कोरोना संक्रमण जहाँ र जुनसुकै अवस्थामा पनि हुनसक्ने उनको भनाइ छ। उनी थप्छन्, ‘अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौं। मास्क लगाउँ। कुनै चिज छोएपछि वा घरबाहिर गएपछि अनिवार्य रूपमा साबुनपानीले हात धोऔं।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि साबुन पानी नभएको वा साबुनपानीले हात धुन नमिल्ने अवस्थामा गुणस्तरीय सेनिटाइजरको प्रयोग गर्न सकिने सुझाव दिन्छन्।
डा. अर्जुन कार्की भने भीडभाड र धेरै मानिसको उपस्थित हुने कार्यक्रममा नजान र हालसम्म कोरोनाबाट जेठ नागरिक बढी प्रभावित भएकाले आ आफनो घरमा रहेको ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गर्छन्। स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना प्रतिकार्य तथा व्यवस्थापनतर्फ २ अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा प्राप्त गरेको छ। त्यसमध्ये एक अर्ब ५८ करोड ५२ लाख ८३ खर्च भएको गौतमले जानकारी दिए।
(अन्नपूर्ण पोष्टबाट)