एमसिसीबारे अध्ययन गर्ने कार्यदलले सुझावमात्रै पेश गर्छ : परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनका (एमसिसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन्।

बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्र मन्त्री ज्ञवालीले कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन्।

पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरूले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उनले बताए।

उनले भने , ‘सरकारले एमसिसी साउन मै संसदमा प्रस्तुत गर्नुको तात्पर्य प्रष्ट नै छ। हामीलाई दिएको विषय पनि त्यही हो। त्यसको बारेमा रहेका अस्पष्टताहरू प्रष्ट पार्न समिति गठन भएको हो। केन्द्रीय समितिमा केही सदस्यहरूले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो। दोस्रो पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौं।’

नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवाली सहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले कार्यदलले अध्ययन गरिरहेको छ ।

बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताए।

दुई देशको हितमा हुनेगरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै लैजाने विषयमा कुराकानी भएको उनले बताए। त्यसैगरी जलविद्युत लगायत उर्जाका स्रोतहरूको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ।

बंगलादेशका वाणिज्य मन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्नका लागि दुवै देशका नजिक रहेका सहरहरूबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरू भारत र बंगलादेशका नदीहरूमा जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation