चिनियाँ दूतावासको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति

कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित  एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रमेश बिष्टले चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो। कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने  काम हुनु आफैंमा निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’

यसअघि मंगलबारको काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल छापेको थियो।

नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ।

सोही विषयलाई लिएर  मंगलबार साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको छ।

सम्पादक काफ्ले पहिलादेखि नै चीनसम्बन्धी एकपक्षीय समाचार दिइरहेको र यसपालि हद नाघेको दूतावासको भनाइ छ। काफ्ले चीनविरोधी शक्तिको गोटी बनेको पनि दूतावासको आरोप छ।

आजै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिको भत्सर्ना गरेका थिए।

‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ,‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation