एमसीसी पास गर्न ओली-प्रचण्ड शीतल निवासमा

काठमाडौं- गत जेठ ३२ गते अपराह्न ४ बजे नेकपाले सचिवालय बैठक बोलाएको थियो । अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) बारे छलफल गर्ने कार्यसूची तय भएको थियो । तर, दिउँसो २ बजे बैठक स्थगित भएको सूचना सचिवालय सदस्यलाई दिइयो ।  पार्टी वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धपेडी भएकाले बैठक स्थगित गर्नुपरेको सूचना पाएको जानकारी दिएका थिए । पार्टी सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि प्रधानमन्त्री ओलीलाई थकान र कमजोरी महसुस भएकाले त्यसदिनको बैठक रोकिएको बताएका थिए । 
“प्रधानमन्त्री दुई–चारदिनदेखि दौडधूपमा हुनुहुन्थ्यो । धपेडी भएपछि उहाँले अर्का अध्यक्षलाई बैठक बसेर छलफल गर्न आग्रह गर्नुभएको पनि हो । तर, प्रचण्डले तपाईंलाई सञ्चो नभए बैठक स्थगित गरौं भनेपछि बैठक रोकियो,” पोखेरेलले बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँगको सामुहिक भेटघाटमा भनेका थिए ।
सचिवालय सदस्यलाई प्रधानमन्त्रीलाई धपेडी भएको जानकारी दिएर प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड भने शीतल निवास पुगेको खुलेको छ । उच्च स्रोतले जानकारी दिएअनुसार पार्टी अध्यक्ष प्रचण्ड आइतबार साँझ पाँच बजे शीतल निवास पुगेका थिए । प्रचण्ड पुगेको आधा घण्टापछि प्रधानमन्त्री ओली राष्ट्रपति भवन प्रवेश गरेको स्रोतको दाबी छ । शीतल निवासमा अध्यक्षद्वय र राष्ट्रपति विद्यादेवी भण्डारीबीच झण्डै दुईघण्टा कुराकानी भएको स्रोतको दाबी छ । पार्टीभित्र एमसीसीको मुद्दा निकै पेचिलो बनेपछि छलफलका लागि शीतल निवास पुगेको स्रोतको दाबी छ । “उहाँहरूबीच एमसीसीमै कुराकानी रहेको बुझिएको छ । भेटमा अरू कुराहरू पनि उठ्ने नै भए । तर, एमसीसी पारित गर्न प्रचण्डलाई ‘कन्भिन्स’ गराउन शीतल निवास बोलाइएको हो,” स्रोतले भन्यो ।
तर, छलफल निचोडमा नपुगेको स्रोतको दाबी छ । बालुवाटार स्रोतका अनुसार एमसीसीमा प्रचण्डको पोजिसन क्लियर भइसकेको छैन । अध्यक्ष ओलीसँग छलफल गरेर टुङ्ग्याउनुपर्छ भने पनि सभामुखलाई कार्यसूचीमा चढाउन रोकेको बालुवाटारको बुझाइ छ । “एमसीसीमार्फत पूर्व एमालेभित्र खेल्ने प्रचण्डको नियत देखिन्छ । अहिले विभिन्न छिद्रमार्फत खेलिरहेका छन् । यही मौकामा ओलीलाई अप्ठ्यारो पार्न सकिन्छ कि भन्ने लागेको होला । त्यसैले समस्या निम्त्याएको हो,” बालुवाटार स्रोत भन्छ । शीतल निवासमै छलफल गर्नुको उद्देश्य पनि प्रचण्डलाई एमसीसी पारित गर्न सहमत गराउनु नै हो । त्यहाँ कुरा नमिलेपछि बैठक अनिश्चित बनेको नेकपाका नेताहरू बताउँछन् ।
पार्टीभित्र अप्ठ्यारो परेपछि ओली–प्रचण्ड राष्ट्रपतिकहाँ छलफल गर्न गएको पहिलोपटक भने होइन । गत मङ्सिर ४ गते पार्टी अध्यक्ष पुष्कमल दाहाललाई कार्यकारीको अध्यक्षको जिम्मेवारी दिँदा पनि राष्ट्रपतिलाई नै साक्षी राखिएको थियो ।  राष्ट्रपतिकहाँ छलफल गरेर टुङ्गो लागेपछि पहिलो वरीयताका अध्यक्ष ओलीले यो कार्यकाल सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष प्रचण्डले आम रूपमा पार्टी सञ्चालन गर्ने, बैठक सञ्चालन गर्ने जिम्मेवारी बाँडफाँट गरिएको थियो ।
युवराज खतिवडालाई प्रवक्ताबाट हटाउन दबाब
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गरिन्, “नयाँ समाचार वाचक नियुक्त भएको रेन्त !” झाँक्रीको अमूर्त ट्विटबारे धेरैले भेउ पाएनन् । तर, त्यो ट्विटमा पार्टीभित्र प्रधानमन्त्री केपी ओलीलाई प्रवक्ता फेर्न परेको दबाबको प्रतिविम्बन भएको नेकपा नेताहरू बताउँछन् ।
“प्रचण्डलगायत पूर्वमाओवादी केन्द्रका मन्त्रीहरू सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेतको जिम्मेवारी पाएका अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउनुपर्छ भनेर ताकेता गरिरहेका छन्,” नेकपाका एक नेता भन्छन्, “युवराज खतिवडाको अर्थमन्त्रीमा ‘पर्फमेन्स’ त राम्रो भएन नै, प्रवक्ताको भूमिका पनि भएन । सरकारको कामको प्रभावकारी सञ्चार भएन भनेर पूर्वमाओवादी केन्द्रका मन्त्रीहरूले दबाब बढाएका छन् । त्यसमा प्रचण्डको साथ छ ।”
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घूस मोलमोलाइ गरेको आरोप लागेपछि फागुन ८ गते गोकुल बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिए । त्यही दिन बाँस्कोटाले सम्हालेको मन्त्रालयको जिम्मेवारी खतिवडाका भागमा परेको थियो । र, सरकारको प्रवक्ता तोकिएका थिए । खतिवडाको राष्ट्रिय सभासदस्यको पदावधि फागुन २० गतेदेखि सकिएको छ । संघीय संसदको सदस्यमा बहाल नरहेको ६ महिनासम्म पदमा रहन पाउने संवैधानिक प्रावधानका कारण उनी मन्त्री कायम छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटा भने बाँकी नै छ । यसअघि नेकपाको फागुन १४ गते बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । तर, वैशाख २० गते बसेको सचिवालय बैठकले फागुन १४ को निर्णय प्रतिस्थापन गर्दै उपयुक्त समयमा प्रतिनिधिसभाको उमेदवार बनाउने निर्णय गरेपछि खतिवडालाई पुनः राष्ट्रिय सभा सदस्यको नियुक्तिको बाटो भने टुङ्गिएको छैन । खतिवडा अर्थमन्त्री कायम रहे पनि सञ्चारमन्त्रीबाट भने हट्ने सम्भावना बढेर गएको स्रोत बताउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation