क्वारेन्टिनबाट घर गएकाबाट स्थानीयमा कोरोना संक्रमण

गोरखा । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकी एक महिलाबाट स्थानीय संक्रमण भएको भेटिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङकी २८ वर्षकी महिला भाउजुको उपचार गराएर चितवनबाट जेठ ८ गते फर्किएकी थिइन् । उनी र भाउजु दुबैलाई स्थानीय जनप्रतिनिधिले जनशक्ति निमाविको क्वारेन्टिनमा राख्यो । त्यो क्वारेन्टिनमा भारतबाट फर्किएकाहरुलाई पनि राखिएको थियो । २१ जेठमा स्वाब संकलन गरेर टेष्ट गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइयो ।एकसातासम्म रिपोर्ट आएन । बरु सबैको रिपोर्ट नेगेटिभ आएको खबर आएको भन्दै २८ जेठमा घर पठाइयो ।
तर भोलिपल्ट चितवनबाट आएकी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भयो । उनलाई आइसोलेसनमा राखेर सम्पर्कमा आएकाहरुको परीक्षण गर्न स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । संक्रमित महिलाको क्लोज कन्ट्याकमा रहेकी ५ बर्षीया छोरी, ५८ बर्षकी आमा र छिमेकी बालक, जो तीन वर्षका छन्, मा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टिनबाट निस्किएपछि २८ वर्षकी महिला वडा नम्बर ६ अश्राङस्थित आफ्नो माइतीघरमा पसेकी थिइन् । ‘घर जाने बाटोमै माइती पर्छ, छोरीलाई पनि त्यहीँ छाडेकी रहिछन्’, गाउँपालिका–६ का वडाध्यक्ष भीमबहादुर थापाले भने, ‘त्यहीँ बसेर छोरीको कपाल कोरिदिने, सँगै खाजा खाने गरिछन् ।’
टेष्ट नीति पुनर्विचार गरौं
यो त प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय दैलेख, डडेल्धुरा, डोटी, कैलाली लगायतका जिल्लामा आरडीटी गरेर वा १४ दिन क्वारेन्टिन बसेको आधारमा धेरैलाई घर पठाइएको छ । उनीहरुमध्ये थुप्रैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखाको घटनाले अव्यवस्थित क्वारेन्टिनमा बसेकालाई आरडीटी टेष्टको भरमा वा लक्षण नदेखिएको आधारमा पीसीआर टेष्ट नगरी घर पठाउँदा घरघरमा कोरोना संक्रमण पुग्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनीलाई पुष्टि गरेको छ । जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षित गलत टेष्ट नीतिकै कारण यो अवस्था आएको बताउँछन् । राम्रोसँग क्वारेन्टिन नगरी आरडीटी गरेर पठाउने तथा आइसोलेसनबाट पनि पीसीआर टेस्ट नगरी घर पठाउँदा दुर्घटना निम्तिने उनको कथन छ । ‘यसरी स्थानीय स्तरमा संक्रमण भएर उच्च जोखिम समूहमा रहेकाहरुलाई सर्‍यो भने अवस्था थेगिनसक्नु हुन्छ । संक्रमण रोकथामका लागि अहिलेसम्म गरेको सबै प्रयास खेर जान्छ’ उनले भनेका छन् । अन्य ठाउँमा पनि यस्तो समस्या देखिएकाले टेस्ट नीति पुनर्विचार गर्नुपर्ने उनको जोड छ । जनस्वास्थ्यविज्ञ डा. शरद वन्त पनि आरडीटीले संक्रमण पत्ता लगाउँदैन भन्क्ने थाहा हुँदाहुँदै राज्यले जनस्वास्थ्यमाथि किन खेलवाड गरिरहेको छ भन्ने प्रश्न गर्छन् । ‘आरडीटी प्रयोग गर्नु हुन्न भनेर संसारभरका विज्ञहरुले भनिरहेका छन्, हामी पनि कराइरहेका छौं । राज्यलाई पनि यसले निम्त्याउने परिणामबारे थाहा छ’ डाक्टर वन्त भन्छन्, ‘थाहा पाउँदापाउँदै हामी फेरि त्यही गल्ती किन रिरहेका छौं ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
नयाँ टेस्टिङ प्रोटोकल आएदेखि नै आफूहरुले आरडीटी मात्र गरेर क्वारेन्टिन बसेका मानिसलाई घर पठाउँदा संक्रमण समुदायसम्म पुग्ने खतरा औल्याएको भन्दै उनले भने, ‘आरडीटी विश्वसनीय हुन्न । यसको भर पर्दा घातक परीणाम आउँछ भन्ने जनतालाई थाहा भइसक्यो, सरकारले थाहा छैन भनेर कसरी भन्नू ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation