सभापति देउवामा पार्टीको विधान मिच्दा बहादुर हुन्छु भन्ने मानसिकता देखियो–वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर हुन्छु भन्ने मानसिकता देखिएको बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्तो बताएका हुन् ।

सभापति देउवालाई विभागहरु गठन गरेको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि देउवामा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता राखेको पौडेलको भनाइ छ । विधान मिचेर बहादुरी देखाउने प्रवृत्तिका कारण नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो कि होइन भन्ने अन्योलता बढेको उनले बताए । ‘हामीले बारम्बार विधान अनुसार चल्न सभापतिलाई ध्यानाकर्षण गर्दै आयौं । तर हाम्रो सभापतिलाई पार्टीको विधान मिच्नु बहादुरी हो जस्तो लाग्छ कि’–नेता पौडेलले भने–‘मैले जति विधान मिच्न सके त्यति नै बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले पार्टी डेमोक्रयाटिक पार्टी नै हो कि होइन भन्ने अन्योलता बढेको छ ।’

आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटक पटक विधान मिचेर विभागहरु गठन गरेको पौडलेको आरोप छ । ‘यो मिच्ने बानी प¥यो । हाम्रो सभापति मैले जे गरे पनि हुन्छ भन्ने सोच्नु हुन्छ । मलाई सम्झना छ यो देशमा कानुन तोड्यो भने गृह मन्त्रीले तोडछ । म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानुन भनेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका । उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे’–उनले भने–‘अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नि भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पु¥यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात ग¥यो, क्षती पु¥यायो र घायल बनायो ।’

त्यस्तैगरी पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्ने भन्दै आफूले सभापति देउवालाई सचेत गराएको उनको दाबी छ । आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौँ भनेको तर सभापति देउवाले नमानेको पौडेलको आरोप छ । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजिएको उनले बताए ।

चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले काम चलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नमिल्ने उनको भनाइ छ । उनले भने–‘चार वर्षको कार्यकाल सकिएपछि उहाँ काम चलाउ सभापति हो । त्यसैले उहाँले एकलौटी निर्णय गर्न मिल्दैन ।’ साथै फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिलेदेखि नै आचारसंहिता सबैलाई लाग्ने पौडेलको भनाइ छ । उनले भने–‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढी सकेका छौँ । त्यसैले अहिलेदेखि नै सबैलाई आचारसंहिता लाग्छ ।’

पार्टीमा विधान मिचेको विषयलाई गम्भीरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलको भनाइ छ । अहिलेको केन्द्रीय समितिमा देउवाको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाणसहित विकल्प खोजिने उनको भनाइ छ । ‘यो विषयलाई हामी गम्भीरता पूर्वक उठाउँदै जान्छौं । यो विषयलाई महाधिवेशन सम्मै उहाँको मनपरीे, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर भन्छौं । त्यसकारण उहाँको विकल्प खोज्न पर्ने स्थिति आएको छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफू नै हुनुपर्छ भन्ने दाबी नगरेको समेत स्पष्ट पारेका छन् । तर, पार्टीले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने उनको तर्क छ ।

पटक पटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पु¥याएर निर्णय गर्नुपर्ने नेता पौडेलको भनाइ छ । उनले भने–‘मै हुनुपर्छ भनेर कहिले पनि भनेको छैन् । तर पार्टीका आम साथीहरुले न्याय चाहिं गर्नुपर्छ । पार्टीमा सबैलाई एक नास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइदैन । किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान सत्ताको, त्यसको विवेक त पु¥याउनु पर्छ नि । उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्ने भन्ने कुरा चाहिं हुँदैन । स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ ।’

त्यस्तैगरी फरक प्रसंगमा नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताएका छन् । कांग्रेसले सुरुदेखि नै सरकारलाई व्यापक तयारी गर्न भन्दै आएको र आफूले पनि प्रधानमन्त्रीलाई भेटेर लिखित रुपमा धानाकर्षण गराउँदा समेत सरकारले वेवास्ता गर्दा अहिले देशमा संकट देखिएको उनको भनाइ छ ।

सरकारले आइसियु, भेन्टिलेटर, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था नगरी नागरिकलाई विचल्ली पारेको उनको आरोप छ । साथै उनले कम्युनिष्ट सरकारले कुनै पनि मानवीय समस्याको समाधान गर्न नसक्ने दाबी गरे । अहिलेको स्थिति कम्युनिष्टहरुको असफलताको नमुना भएको वरिष्ठ नेता पौडेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation