कोरोना भाइरस (कोभिड १९)का कारण उत्पन्न महामारीको समयमा संघीय संसदका सदस्यले बैठक भत्ता लिने कि नलिने भन्नेबारे नेकपाले पार्टीमा छलफल शुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको नेकपा सचिवालय बैठकको कार्यसूचीको विविधमा सांसदले बैठक भत्ता लिने कि नलिने भन्ने विषय समेटिएको छ ।
‘संघीय सांसदका सदस्यले कोरोनाको अहिलेको वर्षमा बैठक भत्ता के गर्ने भन्नेबारे छलफल राखेका छौं’ प्रवक्ता श्रेष्ठले भने । यस विषयमा भोलिको बैठकमा मात्र छलफल हुनेछ ।
संघीय संसदका सांसदले मासिक तलबका अतिरिक्त बैठक भत्ता पाउने गरेका थिए । संसदको बैठक र संसदीय समितिको बैठकमा सहभागि भए वापत सांसदले भत्ता र ट्याक्सी भाडा पाउँदै आएका छन् ।
कोरोना संकटको समयमा आर्थिक मितव्ययिता अपनाउने सरकारको निर्णयलाई मद्दत पुर्याउन नेकपाले सांसदको भत्ता कटौती बारे छलफल गर्न लागेको हो ।
सरकारले सरकारी कर्मचारीका सबै प्रकारको भत्ता र भ्रमण भत्ता कटौती गरिसकेको छ ।