सर्पदंश केन्द्रलाइ व्यवस्थित बनाउन तयार पारिएका कार्यबिधि उपर छलफल 

उज्यालो पोष्ट, बुद्धभूमी

कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई अझै व्यवस्थित बनाइ संचालन गर्नको लागि बुद्धभूमी नगरपालिकाले तयार पारेको मस्यौदा कार्यबिधि उपर छलफल तथा सुझाव लिने कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिकाले तयार पारेको कार्यबिधी बारे बुधबार गोरुसिंगेमा भएको एक औपचारिक कार्यक्रमका बिच जानकारीका साथै छलफल गरि सुझाव लिने कार्यक्रम सम्पन्न भएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनमा समस्या परिरहेको बेला बनाइएको कार्यविधि पश्चात यहाँबाट प्रदान गरिने सेवा सुविधा अझै भरपर्दो हुने विश्वास लिइएको छ । स्थानीय सरकारका रुपमा रहेको बुद्धभूमिले थालेको यो कार्यप्रति सरोकारवालाहरुले प्रशंसा गरेका छन् ।


नगर कार्यपालिकाबाट अनुमोदन भए पश्चात सञ्चालनमा आउने कार्यविधिमा बुद्धभूमिका नगर प्रमुख संयोजक, जिल्लाका अरु स्थानीय तहका प्रमुख सदस्य रहने गरी उपचार केन्द्रमा निर्देशक समिति गठन गर्ने व्यवस्था छ । समितिको सदस्य सचिवमा भने बुद्धभूमि नगरका प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।
५ हजार सहयोग गर्नेलाई साधारण सदस्यता दिने र १० हजार सहयोग गर्नेलाई आजीवन सदस्य बनाउने कार्य्विधिमा उल्लेख छ । यो व्यवस्थालाई सबैले समर्थन गरेका छन् । कार्य्विधि सञ्चालनमा आएको ६ महिना पछि केन्द्र सञ्चालनको लागि व्यवस्थापन समिति गठन हुनेछ । साथै आवश्यक परे विभिन्न उपसमिति गठन गर्ने गरी कार्य्विधिको मस्यौदा तयार पारिएको छ ।
तराईमा सर्पको विगविगी बढीरहेका बेला गोरुसिंगेको सर्पदंश उपचार केन्द्रले धेरै नागरिकलाई बचाएको भन्दै यसलाई थप व्यवस्थित पार्न आफ्नो तर्फबाट महत्वपूर्ण सहयोग रहने शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले प्रतिवद्धता जनाउनु भएको छ । शिवराज नगरपालिकाका नागरिकले यो उपचार केन्द्रबाट सेवा लिदै आएको बताउँदै नगरको तर्फबाट सक्दो सहयोग रहने उहाँले बताउनुभयो । छलफल पश्चात आवश्यक संशोधन गरी कार्य्विधिलाई तत्कालै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइएको थियो ।


बुद्धभूमिका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बुद्धभूमिकी नगर उप प्रमुख मिरा थारु, नेकपाका नेता पिताम्बर खनाल, समाजबादी पार्टीका नेता विष्णु हरि शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल लगायत दुई दर्जन सरोकारवालाको उपस्थिती रहेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत राजन पोख्रेलको सहजिकरणमा भएको छलफलमा विभिन्न व्यक्तिले कार्यविधि माथि सुझाव राखेका थिए । प्राप्त सुझावलाई ग्रहण गरी कार्यविधि तयार पारिने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता जनाउनुभएको थियो ।
विं.स. २०३८ सालमा नेपाली सेनाको पहलमा सञ्चालनमा आएको यो सर्पदंश उपचार केन्द्र पश्चिम नेपालकै एक मात्र सर्पदंश उपचार केन्द्र हो । दाङ, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मी र भारतका विभिन्न जिल्लाबाट यहाँ सर्पले टोकेका विरामी आउने गर्छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation