सात दिनभित्र पार्टी एकताका बाँकी काम सबै टुंगिन्छ : महासचिव पौडेल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सात दिनभित्र पार्टी एकताको थाती रहेका काम टुंगिने बताएका छन् । बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै महासचिव पौडेलले स्थायी कमिटीले बैठकले निर्धारण गरेको मितिभित्रै एकताका बाँकी काम सकिने जानकारी दिएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । भेटमा महासचिव पौडेल पनि थिए । बैठकमा सात दिनभित्र एकता टुङ्ग्याउने समझदारी भएको पौडेलको भनाइ छ ।
“यही मसान्तभित्र एकताका बाँकी काम सबै सकिन्छ । हामी टुंग्याउँछौं,” उनले भने ।
नेकपामा गत मंसिरदेखि एकता प्रक्रिया अघि बढ्न सकेको छैन । मंसिर १ गते प्रवास समन्वय कमिटीले आकार पाएको थियो । त्यपछि मंसिर २८ गतेदेखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटीको चौंथो बैठकले शीघ्र एकताका काम सक्न निर्देशन दिएको थियो ।
त्यस्तै माघ १५ देखि २९ गतेसम्म बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले १५ दिनभित्र एकताको बाँकी काम सक्न निर्देशन दिएको भए पनि अघि बढ्न सकेको थिएन ।
गत भदौ २६ गते सकिएको स्थायी कमिटीको पाँचौं बैठकले असोज मसान्तभित्र एकताको काम सक्ने निर्णय गरेको थियो । असोज ६ गते बसेको सचिवालयको ६८ औं बैठकले एकताका बाँकी काम सक्न प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिव समेतलाई दिएको थियो । स्थायी कमिटीको म्यान्डेटअनुसारै एकताका सम्पूर्ण काम निर्धारित समयमै सकिने पौडेलको भनाइ छ ।
नेकपामा जनसंगठनहरू, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, केन्द्रीय लेखा, निर्वाचन, अनुशासन आयोगले नेतृत्व मात्रै पाएको छ । सदस्यहरू मनोनीत हुन बाँकी छ । नीति प्रतिष्ठानमा पनि सदस्यहरू नियुक्त भएको छैन । ३२ वटा विभागले पनि पूर्णता पाउन बाँकी छ । विधानतः केन्द्रीय विभागको संख्या बढीमा ३५ सदस्यीय हुनेछ । प्रवास समन्वय र विशेष जिल्ला कमिटीहरूले पनि पूर्णता पाउन सकेको छैन ।
विधानतः गठन हुनुपर्ने पोलिट्ब्युरो गठनको प्रक्रिया पनि अघि बढ्न सकेको छैन । केन्द्रीय सदस्य संख्याको एक तिहाइ नबढ्ने गरी नेकपाले पोलिटब्युरो गठन गर्न सक्छ । तर, शक्ति सङ्घर्षको चेपुवामा पोलिटब्युरो पर्दै आएको छ । वरिष्ठ नेता माधव नेपालले बैठककैपिच्छे र सार्वजनिक कार्यक्रममा पोलिटब्युरो गठनको माग गरे पनि दुवै अध्यक्षले उदासिनता प्रकट गर्दै आएका छन् । यसपटक स्थायी कमिटीले असोजभित्र गठन गर्न निर्देशन नै दिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation