अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई, मन्त्रिपरिषदमा हेरफेर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठित टिममा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् । पौडेल दोस्रोपटक अर्थमन्त्री बनेका हुन् । उनी प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत मानिन्छ । युवराज खतिवडापछि अर्थमन्त्रीमा ओलीले फेरि आफ्नै विश्वास पात्र रोजेका हुन् । पौडेल शालीन स्वभावका मानिन्छन् । कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने चुनौती पौडेललाई हुनेछ । सेयर बजारका लगानीकर्ताको विश्वास जित्नुपर्ने अवस्था पनि रहेको छ ।  यसैगरी, नयाँ मन्त्रिमण्डलमा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका छन् । यसैगरी, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुनर्गठनपछि मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation