गृहमन्त्री रामबहादुर थापा (बादल)ले सशस्त्र भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिएका छन्। ६५औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।
‘अहिले हाम्रासामू संविधानको उपलब्धीलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस पनि गरिरहेका छन् । त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता नगरोस्’ मन्त्री थापाले भने।
त्यसैगरी अपराध र अपराधीको विषयमा समेत प्रहरी धेरै जानकार रहेकाले त्यसविरुद्ध पनि योजनाबद्ध तवरले अगाडि बढ्नुपर्ने उनको सुझाव थियो ।
लकडाउन र कोरोना भाइरस संक्रमणका कारण नयाँ सुरक्षा चुनौती सामना गर्नुपरेको र यस विषयमा प्रहरीले गरेको काम प्रशंसनीय रहेको मन्त्री थापाले बताए ।