अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र बाइडेनका समर्थकबीच तनाव

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । राष्ट्रपतिका दुई प्रत्याशी डोनाल्ड ट्रम्प र जो बाइडेनबीच जति चुनावी सरगर्मी चढेको छ त्यति नै उनीहरूका समर्थक पनि तनावपूर्ण अवस्थामा छन् । हुन त कुनै पनि राष्ट्रमा निर्वाचन हुँदा समर्थकबीच झडप हुनु सामान्य नै हो । 
अमेरिकाको राष्ट्रपति निर्वाचनअघि यस्तै घटना बाहिर आइरहेका छन् । ट्रम्प र बाइडेनका समर्थकबीच केही राज्यमा झडप भएको स्थानीय एजेन्सीहरूले जनाएका छन् । बेबर्ली हिल्समा समर्थकबीच झडप हुँदा ट्राफिक जाम भएको छ । बाइडेन र ट्रम्पका समर्थकले सडक जाम गरेका हुन् । 
यसैगरी कतिपय राज्यका घरको झ्यालबाहिर ट्रम्प र बाइडेनका फोटो राखी समर्थन गरिरहेका छन् । अहिले सडकमा मात्र नभएर छिमेकी–छिमेकीबीच नै वाक–युद्ध चलिरहेको छ । ट्रम्पले दोस्रोपटक निर्वाचित हुन चुनावको अन्तिम दिनसम्म आफूलाई ¥याली र सभामा व्यस्त राखे । विशेषतः आफ्नो भोटिङ पावर कमजोर भएको स्थानमा उनले लामो समय भाषण गरेका छन् । 
ट्रम्पको तुलनामा बाइडेनले आयोजना गरेका ¥यालीमा भिड बढी थियो । ट्रम्पले यसपटकको निर्वाचन प्रक्रिया लामो र परिणाम आउन ढिलाइ हुने सक्ने बताएका छन् । उनले भने, ‘मेरो विचारमा यसपटकको निर्वाचनको भोटिङ प्रक्रिया लामो हुने सम्भावना छ ।’ राष्ट्रपति हुन दुईमध्ये एक उम्मेदवारले दुई सय ७० इलेक्टोरल कलेज प्राप्त गर्दा काफी छ । 
दुई सातासम्म कुर्नुपर्ने
निर्वाचनको अन्तिम परिणाम थाहा पाउन कम्तीमा दुई साता लाग्नेछ । यसपटक कोरोना भाइरस महामारीका कारण नतिजा आउन अलि ढिला हुनेछ । किनभने कतिपय मतदाता मतदान गर्ने स्थानसम्म जान नसक्ने भएकाले हवाई र हुलाकबाटै पठाएका छन् । निर्वाचन आयोगसम्म ती मतपेटिका पुग्न समय लाग्न सक्छ । 
फ्लोरिडा नै टर्निङ प्वाइन्ट
अमेरिकी राष्ट्रपति निर्वाचनको एउटा रमाइलो पक्ष छ । सन् १९६४ देखि फ्लोरिडा राज्यले नै राष्ट्रपति चयन गर्न महत्वपूर्ण भूमिका गरेको छ । यस राज्यका इलेक्टोरलले जसलाई बढी मतदात गर्छन्, त्यही नै निर्वाचित हुने परम्परा रहेको छ । सन् २०१६ को निर्वाचनमा ट्रम्पले हिलारी क्लिन्टनलाई केवल एक प्रतिशतले मात्र पराजित गरी पहिलोपटक राष्ट्रपति बनेका थिए । यसकारण ट्रम्प र बाइडेनले फ्लोरिडा बढी समय बिताएका छन् । इलेक्टोरल समूहअनुसार क्यालिफोर्निया पनि अहं मानिन्छ । 
यसैबीच अमेरिकन अनुसन्धानकर्ताले फ्लोरिडा सम्बन्धमा एउटा डाटा निकालेका छन् । बाइडेनको फ्लोरिडामा ११ प्रतिशत जित्ने सम्भावना छ । त्यहीँ ट्रम्पको सम्भावना १ प्रतिशत मात्र रहेको छ । सन् २०१६ को निर्वाचनमा क्लिन्टनलाई मतदाताले ४८.५ प्रतिशत मन पराएका थिए । ट्रम्पलाई जनताबाट ४६.४ प्रतिशत समर्थन प्राप्त भएको थियो । तर, इलेक्टोरल भोटिङमा ट्रम्पले जित हात पारे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation