प्रधानमन्त्री बन्‍नै नपाएर प्रचण्ड र माधव नेपालले नेकपा विभाजन गरेः महेश बस्‍नेत


नेकपाका ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले कम्युनिष्ट पार्टीको १३ देखि ३३ वर्षसम्म नेतृत्व गरेका २ पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनैका लागि मरिहत्ते गरेर नेकपालाई विभाजन गरेको बताएका छन्। प्रेस संगठन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा युवा नेता बस्नेतले प्रधानमन्त्रीको संसद विघटन गरि दिएपछि पुन प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाले सडक छाप प्रधानमन्त्रीमा प्रचण्ड परिणत भएका उनले तर्क गरे।

लोकतन्त्रको मुल मर्म नै जनअभिमत भएकाले प्रधानमन्त्रीको संसद विघटन गरेर चुनावमार्फत जनमत दिने निर्णयलाई सर्वोच्च अदालतले सदर गर्ने बताए। आफूलाई लोकतन्त्रको हिमायती भन्ने नेताहरुले नै सर्वोच्चलाई दबाब र प्रभाव पार्ने कार्य गरिरहेको पनि उनले आरोप लगाए। हाम्रो संविधानमा ५ वर्षमा मात्रै चुनाव हुनुपर्छ भन्ने कानुनी व्यवस्था भए पनि लोकतन्त्रमा जनमत नै सर्वोपरि हुने भएकाले त्योभन्दा पहिले पनि चुनाव हुन सक्छ, उनले भने।सार्वभौम जनमत लिन्छु भन्ने प्रधानमन्त्रीको निर्णय बदर भएर संसद पुनः स्थापना भए मुलुकमा २०५२-०५३ सालमा जस्तै पुन विकृति र विसंगतिको सिलसिला सुरु हुने, सांसद किनबेच, पँजेरोदेखि सुरा सुन्दरी कान्ड दोहोरिने बताए।

बल्खुको पार्टी कार्यालय र चुनाव चिह्न सूर्य ओली समूहले नै पाउने दाबी गर्दै प्रचण्ड र माधव नेपालले नैतिक हिसाबले सूर्य पाउने तर्क गर्न नमिल्ने बताए। केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएपछि उहाँको लोकप्रियताका कारण नेकपाले बहुमत पाएको उनले दाबी गरे। केपी ओलीलाई होइन नेकपालाई जनताले बहुमत दिएका हुन भन्नेहरुले सूर्य चिह्न नलिई चुनावी मैदानमा उत्रिएर विजयी भएर देखाउन पनि उनले चेतावनी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation