चितवन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन् । चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए । सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे ।उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे । जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए । प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा चितवन पनि छाड्ने दाबी गरे ।उनले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दाबी गरे । उनले निर्वाचन आयोगमा केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको बताए । पार्टीका बागमती प्रदेश सचिव आनन्द पोखरेलले नेकपा पुनर्गठन बाध्यता भएको बताए । उनले नातावादको विरूद्ध उत्रिन कार्यकर्तालाई आह्वान गरे। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी छन् ।