अलिकति नैतिकता भए राजीनामा दिनोस :प्रचण्ड, तत्काल राजनीनामा दिनु हुन्न: प्रेस सल्लाहकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।

उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । ‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने  सर्वोच्चको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद र कानुनविदलाई धन्यवाद दिए। उनले पार्टी अध्यक्षको हैसियतमा सबै पार्टी पंक्तिलाई देशभर खुशीयाली मनाउन अपीलसमेत गरेका छन् । 

यता  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले हाल राजीनामा नदिने बताएका छन् ।थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै अघि बढ्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् ।

यस्तो छ थापाको प्रतिक्रिया :

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation