नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी

उज्यालो पोष्ट, बुटवल

हेटौडा । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्‍यो ।’

यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भने, ‘पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation