उज्यालो पोष्ट,भाद्र २३ , २०७८
सल्यान र ताप्लेजुङ — सल्यानका १० स्थानीय तहका ७६ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको मंगलबारसम्मको समयसीमामा जिल्लाका १ सय ४२ स्थानीय जनप्रतिनिधिमध्ये ७६ ले समाजवादीमा सनाखत गरेका हुन् ।
नेकपा (एस) मा सनाखत गर्नेमा सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढामगर, १७ जना वडाध्यक्ष र ५७ जना सदस्य रहेको जिल्ला निर्वाचन अधिकारी तेजेन्द्रकुमार चन्दले बताए । गत बिहीबार र शुक्रबार ६४ जनाले तथा मंगलबार थप १३ जनाले सनाखत गरेको उनले जानकारी दिए ।नेकपा (एस) जिल्ला सचिव रमेशकुमार गौतमले भने १९ जना वडाध्यक्षले सनाखत गरेको बताएका छन् । बाग्चौर नगरपालिका–१ मा एमालेबाट निर्वाचित वडाध्यक्ष निलम्बनमा परेपछि र सिद्धकुमाख गाउँपालिका–४ का अध्यक्षले राजीनामा दिएपछि कार्यवाहकको जिम्मेवारीमा रहेका दुवैले एकीकृत समाजवादीमा सनाखत गरेको उनको भनाइ छ ।
सल्यानका स्थानीय तहमा ४ प्रमुख, ३ उपप्रमुख, २७ वडाध्यक्ष र १ सय ८ सदस्य गरी १ सय ४२ जनाले निर्वाचन जितेका थिए । तीमध्ये ७६ जनाले नेकपा ९एस० मा सनाखत गरेपछि एमाले अल्पमतमा परेको छ । एमालेभन्दा नेकपा (एस) मा १० जना बढी जनप्रतिनिधि छन् ।त्यस्तै ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका दुई उपाध्यक्ष र ५ वडाध्यक्षसहित २० जनप्रतिनिधिले नेकपा ९एस० रोजेका छन् । सुरुमा २१ जनाले नेकपा ९एस० मा सनाखत गरे पनि एक जनाले फेरि एमालेमै रहने भनी निवेदन दिएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए ।
नेकपा (एस) रोज्नेमा २० मध्ये अधिकांश मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि छन् । यही गाउँपालिका घर भएकी जिसस उपप्रमुख देवीमाया नेपाली, गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले पनि एमाले छाडेका छन् । त्यस्तै आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौड्याल भट्टराई नेकपा ९एस० मा आएकी छन् । यसअघि नेकपा ९एस० रोजेका मिक्वाखोला घर भएका जिसस सदस्य निमा तेञ्जी शेर्पाले भने सनाखत फिर्ताका लागि मंगलबार निवेदन दिएका छन् ।