राम प्रघट कोरी / शहबाज खान
ताैलिहवा कपिलबस्तु प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताएका छन् । विहिवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निर्माणगरी व्यवस्थित ढङ्गले सञ्चालनमा रहेकोमा त्यसको प्रसंशा गर्दै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई उनले बिशेष धन्यवाद पनि दिए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, डब्लु.एच.ओका प्रतिनिधि, सहितको टोली जिल्लाका विभिन्न पालिकाको आइसोलेशन सेन्टरहरुको अनुगमनको क्रममा आज विजयनगरमा आएको थियो ।