झापामा गोली चल्यो, प्रहरीको गोली लागेर एकको मृत्यु

झापा गाउँपालिका वडा नं  ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ ।  घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा आज बेलुकी ९ बजेतिर मृत्यु भएको हो ।  आलमको पेटमा गोली लागेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मंगलबार  अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताए । प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले घटनाका कारण कामाटोली बजार तनावग्रस्त रहेको बताए। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation