स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खोल्ने तयारी

उज्यालो पोष्ट, बुटवल
काठमाण्डौ – पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाण्डौसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गएको वैशाख पहिलो हप्तादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवम् गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज) को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज शुक्रवार बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उहाँले बताउनुभयो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिनुभयो । यस पटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो ।

भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उहाँले सुनाउनुभयो । मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दुरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ ।

विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । दश महिनापछि २०७७ पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ः०० देखि दिउँसो २ः०० बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।

भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन् । पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ ।

उज्यालो अनलाइनबाट साभर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation