कपिलवस्तु-कोरोना भाइरसको संक्रमण रोक्न कपिलवस्तु जिल्लाका बिभिन्न स्थानमा सञ्चालनमा ल्याईएका क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीको संख्या बढदो छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर १० ओटै पालिकामा ८ बेडको आईसुलेशन वार्ड सहित ३ सय १९ बेडको क्वारेन्टाईनमा सोमबार १ सय ७७ जना बिरामी राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत मनोज कुमार शैनीले जानकारी दिए ।
जिल्लामा सञ्चालन गरेको क्वारेन्टाईनको अवस्था बुझन यशोधरा गाँउपालिकाको अनिरुद्र पब्लिक माबिको क्वारेन्टाईनमा बिहान ११ बजे पुग्दा क्वारेन्टाईनमा रहेका दुई बिरामी र सुरक्षाकर्मीलाई खाजा समेत नख्वाएको भेटियो । दिल्लीबाट साता दिन अघि फर्किए पछि चार दिन अघि बाट क्वारेन्टाईनमा राखिएका बिरामी सन्तोष पासीले अरु दिन समयमै खाना पुग्ने भए पनि सोमबार बिहान ११ बजे सम्म खाना खाजा नपाएको बताए । “शुरु दिन एउटा मिनरल वाटर दिएका थिए । त्यस पछि धाराकै पानी खाएका छौ । ” उनले भने । बिरामीको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नाम नखोलिदिने शर्तमा भने “बिरामीलाई साबुन सम्म दिएका रहेछन । हामीलाई त न पिउने पानी न हात धुने साबुननै दिएका छन ।”
सो पश्चात कपिलवस्तु नगरपालिकाको वडा नम्बर २ स्थित महेन्द्र आधारभुत बिद्यालयमा सञ्चालन गरेको क्यारेन्टाईनमा पुग्दा कोरोना भाईरस सम्बन्धि क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुरुप एक खाट देखी अर्को खाट बिचको न्युनतम दुरी समेत पालना गरिएको भेटिएन । मापदण्डको ४ नम्बर बुदाँको (छ) मा एक देखि अर्को खाटको न्युनतम दुरी साढे तिन फिट हुनु पर्ने भए पनि सो दुरी कायम गरिएको देखिएन । त्यस्तै सो क्वारेन्टाईनमा बसेकाहरुले घरबाट ल्याएको खाना सामुहिक रुपमा खादै गरेको दृश्य समेत भेटियो । त्यहाँ रहेका बिरामी सुर्य प्रसाद धोबीले सरसफाई सामान सामुहिक प्रयोग गर्नु परेको गुनासो गरे । त्यसै गरि दुई दिन अघि सम्म खानपिनको समेत उचित व्यवस्था नभएको त्यहाँ रहेका बिरामी अब्दुल करिमले बताए ।
उता जिल्लाको मायादेवी गाँउपालिकाको छत्रपाली तिर्थादेवी उच्च माबिको क्वारेन्टाईनमा रहेका बिरामी नुर मोहम्मद धोबीले त्यहाँ उपलब्ध गराईएको सेवाबाट सन्तुष्ट रहेको बताए । बिगत साता दिन यता क्वारेन्टाईनमा रहेका उनी चैत्र ४ गते कोरोना संक्रमित युवती सगै कतार एयरबाट घर फर्किएका थिए । उनले शुरुको दिनमा अव्यवस्थित देखिए पनि अहिले क्वारेन्टाईको सेवा व्यवस्थित भएको बताए । सो बिषयमा क्वारेन्टाईनहरु तोकिएको मापदण्ड अनुरुप सञ्चालन भए नभएको बारे बुझन क्वारेन्टाईनको अनुगमनमै रहेका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सँग फोन सम्पर्क गर्दा प्रजिअको फोन उठेन ।
बुटवल टुडेबाट साभार